justnep single

अब गफ फिट्ने दिन गए, भारतसँग मित्रतापूर्ण ढङ्गले भूमि फिर्ता हुन्छ, लेनदेनको झमेलाले सरकारलाई काम गर्नै दिइएन : प्रधानमन्त्री

admin

काठमाडौं, २६ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गरिरहेको आफ्नै पार्टी भित्रबाट काम गर्ने वातावरण बन्न नसकेको बताएका छन् । काम गर्न खोज्दा जहिले पनि झमेला मात्रै सिर्जना गर्ने काम भएकाले आफूले नागरिकमा जाने निर्णय गर्नुपरेको उनले बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जोड-घटाउ, मोलतोल र लेनदेनको झमेलाले सरकारले काम गर्ने वातावरण बन्न नसकेको बताए ।

उनले बहुमतलाई ध्वस्त पार्ने, अस्वस्थ र अनुचित गतिविधि बढाउने, ल्याइएका विधेयकहरू अड्काउने काम पार्टी भित्रैबाट भएको भन्दै दुःखेसो गरे । यस्तै प्रणाली र संविधान नै बेठिक भयो भन्ने निष्कर्ष निकाल्न खोज्नेसमेत भएकाले प्राप्त उपलब्धि रक्षा गर्नका लागि पनि आफूले यस्तो कदम चाल्नुपरेको उनको भनाइ छ ।

झण्डै दुई तिहाइ प्राप्त सरकार सञ्चालन गर्ने दलभित्रै चरम अस्वस्थताको वातावरण बनेपछि थप सङ्कट ननिम्तियोस् भन्नका लागि आफ्नो कदम अघि बढेको उनले दाबी गरे । यस्तै उनले गएको बैशाख १३ देखि पुस ४ गतेसम्म दुई सय ८० वटा गुटका बैठक बसेको बताएका छन् । पार्टीलाई कमजोर पार्ने एउटै नेताको घरमा दुई सय ८० वटा बैठक बसेको र ३५ वटा बैठक अरू नेताको घर र अरू ठाउँमा बसेको उनले बताए ।

यसैगरी प्रधानमन्त्री ओलीले सिमानाबारे कुरा उठाउँदैमा भारतसँगको सम्बन्ध नबिग्रिने बताएका छन् । भारतसँग मित्रतापूर्ण ढङ्गले मात्रै भूमि फिर्ता गर्न सहज हुने भएकाले भारतसँगको सम्बन्ध थप सुमधुर बनाउने प्रयासमा आफू रहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले सिमानामा देखिएका समस्याबारे न्यायोचित तर्कसहित खुलस्त भन्नुपर्ने र त्यसका लागि रिस गरेर मात्रै नहुने बताए ।

सम्बन्ध बिग्रने डरले आफू आफ्नो भूमिबारे चुप लागेर बस्न नसक्ने भन्दै उनले सुमधुर सम्बन्ध कायम गरेर पनि यसबारे आफूले छलफल अघि बढाएको बताए । आफूहरूले सही भूमिमा दाबी गरेकाले अब नक्साबाट मात्रै नभइ भूमिलाई व्यवहारमा नै कायम गरेर छाड्ने दाबी गरे ।

सुगौली सन्धिपछि एक सय ४६ वर्षसम्म नेपालको भू-भाग नक्साबाटै गायब गरिएको स्मरण गर्दै उनले अहिले भू-भाग नक्सामा समेटिएको र मित्रतापूर्ण ढङ्गले व्यवहारमा नै भूमि फिर्ता गरेरै छाड्ने बताए । उत्तरी सिमानामा पनि थुप्रै नाकाहरू खुलेको भन्दै उनले रेल, पानीजहाज, जलमार्ग आदिबारे आफूले काम गर्न खोजेको देखेर केहीको मन पोल्न थालेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले इतिहासमा ‘रेकर्ड’ कायम राख्ने धेरै काम गरेको दाबी समेत गरेका छन् । एकैदिन तीन सय नौ अस्पताल शिलान्यास गरेर सरकारले अहिलेसम्मकै रेकर्ड कायम गरेको उदाहरण दिँदै उनले यस्ता थुप्रै काम अहिलेको सरकारले गरेको बताए । यसअघि एक वर्ष हैन धेरै वर्षसम्म पनि यो संख्यामा अस्पताल बनाउन शिलान्यासको कामसमेत नभएको भन्दै उनले सरकारले जनजीविकाका सवालमा धेरै काम गरेको बताए ।

यसैक्रममा उनले अब गफ फिट्ने दिन गएको पनि बताएका छन् । गफ गरेर बसेर मात्रै नहुने भन्दै उनले काम गरेर त्यसको उपलब्धि देखाउनुपर्ने उनले बताए । आफूले गल्ती गरेको रहेछ भने नागरिकले दण्ड दिने भन्दै उनले खुट्टा नकमाइकन चुनावी मैदानमा आउन आह्वान गरे । यसैबीच उनले सरकारले नागरिकमा जागरण फैलाएकै कारण कोरोनालाई थप भयावह हुनबाट बचाएको दाबी गरेका छन् ।

उनले अनिवार्य हात धुन, विभिन्न जडीबुटीको प्रयोग गर्न र तातो पानी खान सल्लाह दिएर कोभिडसँग सामना गरिरहेको बताए । उनले कोरोनाविरुद्धको खोप ल्याउने तयारीमा सरकार रहेको र केही समयमै कोभिडको समस्या समाधान हुने विश्वास गरे । नेपाली नागरिकको जीवन नै सरकारको सबैभन्दा पहिलो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूसँग ६४ प्रतिशत बहुमत रहेको दाबी गरेका छन् । उनले संविधानमा उल्लेखित प्रावधानअनुसार नै आफूले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको बताएका छन् । प्रतिनिधिसभा विघटन भइसकेपछि मनगढन्ते कुरा गरेर नहुने भन्दै उनले अब कुनै पनि हालतमा प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताए ।

अब बाँकी रहेको ३६ प्रतिशतलाई ५१ प्रतिशत बनाउन निकै गाह्रो भएको भन्दै उनले प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिटलाई सर्वोच्च अदालतले खारेर गर्नुपर्ने तर्क गरे । प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिले अनुमोदन गरेको भन्दै उनले त्यसमा राष्ट्रपतिलाई विवादित बनाउन नमिल्ने बताए ।

अहिलेको सरकार संविधानको धारा ७६ को १ अनुसार बनेको सरकार भएको भन्दै उनले जति कराए पनि जति चिच्याएपछि प्रतिनिधि सभा पुनर्स्थापना हुन नसक्ने बताए । प्रधानमन्त्रीले विघटनको सिफारिस गर्न पाउँदैन भन्ने कुरा संविधानमा कहीँ पनि उल्लेख नभएको भन्दै उनले यो राजनीतिक विषय भएकाले सर्वोच्चले आफूले गरेको निर्णयविरुद्ध परेका सबै रिटलाई खारेज गर्नुपर्ने बताए ।

प्रतिक्रिया