एआइजी बन्न तानातान

रबि धिताल

काठमाडौं, फागुन १२: नेपाल प्रहरीमा रिक्त तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सात प्रहरी नायब महानिरीक्षक (डिआइजी) बीच प्रतिस्पर्धा सुरु भएको छ। प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीका ब्याची तारणीप्रसाद लम्साल, त्यसपछिका शैलेश थापा, हरि पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेलबीच प्रतिस्पर्धा सुरु भएको हो। अहिले जुन डिआइजी एक नम्बर एआइजीमा बढुवा हुन्छ, त्यही पाँच महिनापछि आइजिपी हुने अवस्था छ।

आइजिपीका ब्याची लम्सालपछि बढुवा हुने ९१औं ब्याचका थापा, पाल, शाही र कार्कीमध्ये पहिलो नम्बरमा जसको बढुवा हुन्छ त्यही नै आइजिपीको प्रबल दाबेदार हो। ९१औं ब्याचीको वैकल्पिक समूहमा भर्ना भएका डिआइजी पोखरेल पनि प्रतिस्पर्धामा छन्। पोखरेल एआइजी बन्ने दौडमा सहभागी भएपछि प्रहरी संगठनभित्र हलचल मच्चिएको छ। आठ महिना सिनियरसँग बढुवाको दौडमा सहभागी भएका पोखरेल एआइजी भए भने संगठनमा चेन अफ कमान्ड बिग्रने बताउन थालिएको छ। हाल पोखरेलको वरीयता नम्बर भने उपाध्यायको भन्दा बढी रहेको छ।

९१औं ब्याची थापा, पाल, शाही र कार्कीभन्दा उपाध्याय वरीयतामा पछि छन्। तर उनी आइजिपी ज्ञवालीकै ब्याची हुन्। प्रहरी प्रधान कार्यालयले डिआइजी लम्साल, थापा र पाललाई एआइजीका लागि सिफारिस प्रस्ताव तयार गरेको छ। स्रोतका अनुसार त्यसमा शाही, कार्की, उपाध्याय र पोखरेललाई समेटिएको छैन। ‘गृह मन्त्रालयले सिफरिस मागेको बखत लैजान प्रस्ताव तयार भएको छ। मंगलबार मन्त्रीज्यू काठमाडौं आएपछि प्रस्ताव पठाउन सकिन्छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

आइजिपी ज्ञवाली र हालका डिआइजी लम्सालले आगामी असार २४ मा अवकाश पाउने भएपछि भावी आइजिपीका लागि अहिले बढुवा हुने टोली प्रतिस्पर्धी हुन्छन्। पोखरेल भने गत वैशाखमै डिआइजीमा बढुवा भएका थिए। उनका ब्याचीहरु अबमात्रै बढुवा हुनेछन्। डिआइजी सुशील भण्डारीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको स्थानमा पोखरेलको बढुवा भएको हो। ९१औं ब्याचका वैकल्पिक पोखरेल आफ्नो ब्याचमध्येबाट आइजिीपीका स्वाभाविक दाबेदार हुन।

तर उनी अहिले नै एआइजीको दौडमा रहेपछि ९१औं ब्याचकाले त्यसलाई अस्वाभाविक भन्दै विरोध गरिरहेका छन्। ‘११ महिनापछिको भर्ना तथा डिआइजी बढुवा हुँदा पनि आठ महिना पछि रहेका पोखरेललाई एआइजीमा बढुवा गरेर आइजिपी बनाउने चलखेल भए ९१औं ब्याचका सबै अधिकृत बाहिरिने सम्भावना छ’, सोही ब्याचका एक अधिकारीले भने।

सो ब्याचमा ९७ जना अधिकृत छन्। हाल डिआइजी थापाको टोली २०४९ वैशाख १९ गते भर्ना भएका थिए भने २०४९ चैत ११ गते पोखरेलको टोली भर्ना भएको थियो। पोखरेलले पनि आफूलाई ९१औं ब्याचकै भएको बताउँदै आएका छन्। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया