एमसीसीको विषयमा एमालेमा कुनै मतभेद छैन, काँचुली मात्र फेरेर पार्टीमा नयाँ जीवनको सुरुवात भयो : विष्णु पौडेल

admin

रुपन्देही, २३ भदौ : नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताएका छन् । सरकारले एमसीसीको प्रस्ताव संसदमा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनले बताए ।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पौडेलले एमालेले देशको हितलाई केन्द्रमा राखेर र नागरिकको चाहनाअनुसार निर्णय गर्ने बताए । एमसीसीको विषयमा सत्ता गठबन्धनका सहभागी दल नै एकमत नरहेको उनको भनाइ थियो ।

एमाले विभाजन नभइ सर्पले झैँ काँचुली मात्र फेरेर पार्टीमा नयाँ जीवनको सुरुवात भएको पौडेलले सुनाए । पार्टी विभाजन विचार र दर्शनका आधारमा नभइ लोभ तथा अवसरका लागि भएको पौडेलले आरोप लगाए । सरकारले एमाले विभाजनका लागि ल्याएको अध्यादेश कुनै पनि हालतमा संसदबाट पारित हुन नसक्ने उनको भनाइ थियो ।

पार्टीको लुम्बिनी प्रदेशको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको कुनै असर नपरेको बताए । प्रदेश कमिटी बैठकले पार्टी एकीकरणका लागि कार्यदलले तयार गरेको १० बुँदे सम्झौतालाई सकारात्मक रूपमा लिएर रचनात्मक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया