justnep single

एमसीसी नपर्खि ट्रान्समिसन लाइनहरू देशकै लगानीबाट तुरुन्तै बनाउनुपर्छ : ऊर्जामन्त्री

admin

काठमाडौं, २९ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्न नहुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामका लागि एमसीसी पर्खेर बस्न नहुने बताएका हुन् ।

विद्युत् खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकाले एमसीसीलाई नपर्खिकन ट्रान्समिसन लाइनहरू देशकै लगानी अथवा अरू नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्ने उनले बताए । एमसीसी लागू गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्ने उनको भनाइ छ ।

यस्तै, मन्त्री रायमाझीले देशको राजनीतिक प्रणाली र परिवर्तनका मुद्दाहरु नै गुम्ने स्थिति आएको कारण मध्यावधि चुनावमा जानु परेको बताए । उनले मध्यावधि चुनावमा जानु प्रगतिशील कदम भएको टिप्पणी गरे । देशको परिवर्तनको रक्षा गर्न चुनाव आवश्यक रहेको उनको भनाइ छ । उनले प्रतिपक्षी दलहरु चुनावमा जान डराएको तथा सडकमा आन्दोलन गरेर देशको विकास र समृद्धि नहुने बताए ।

ऊर्जामन्त्री रायमाझीले बेला-बेलामा विद्युत् जाने समस्या विद्युत् भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पारे । विद्युतको अपर्याप्तताका कारण विद्युत् काटिएको नभइ पुरानो संरचनाका कारण बेला-बेला जाने गरेको उनको भनाइ छ ।

यसैगरी मन्त्री रायमाझीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीबारदेखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल-भारतबीचको अन्तर्विरोध न्यूनीकरण गर्ने विषयमा छलफल हुने जानकारी पनि दिए । मन्त्री ज्ञवालीको भारत भ्रमण परराष्ट्रमन्त्री स्तरीय नियमित भ्रमण रहेको उनले बताए ।

प्रतिक्रिया