एमालेद्वारा सभामुखको राजीनामा माग, राष्ट्रिय सभामा विरोधका बीच विनियोजन विधेयक टेबुल

admin

काठमाडौं, ५ असोज : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको छ । मंगलबार सुरु भएको राष्ट्रिय सभाको दोस्रो बैठकमा बोल्दै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा माग गरेका हुन् । बैठक सुरु हुनासाथ यसअघि झैँ एमालेका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए । त्यसपछि बोल्न सुरु गरेका सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ सांसदलाई कारबाही गरेको सिफारिसअनुसार उनीहरूलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोपसमेत लगाए ।

उनले भने, ‘हामी सोध्न चाहन्छाँ– कुनै पनि व्यक्ति आफ्नो कुर्सीमा बसिसकेपछि मर्यादा कसैले पनि उल्लङ्घन गर्न हुन्न । त्यो कुर्सीको गरिमालाई जोगाउनु चाँहि पर्छ । यदि कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने, त्यो कुर्सीको महत्त्वलाई बुझ्न सकिन्न भने त्यस्तो व्यक्ति कुर्सीमा बस्न लायक हुँदैन र हामीले भनिराखेका छौँ – तत्काल उहाँले निकास दिनुपर्छ भनिरहेका छौँ । त्यो भनेको राजीनामा हो । आज नेपालमा चाँहि सदनदेखि सडकसम्म यो कुरा उठिरहेको छ । विश्वले के भनेको होला रु आज प्रश्न उठिरहेको छ । गैरसांसदहरूलाई सदनमा राखेर विधेयकहरू ल्याइन्छन् ।’

सांसद श्रेष्ठले गैरसांसदहरूलाई सांसद भनेर संसदमा राखिन्छ भने त्यसले त्यो संसदको र संविधानको रक्षा हुन्छ कि हुँदैन ? भनेर प्रश्नसमेत गरे । उनले संविधान विपरीत, संसदको मर्यादा विपरीत आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेसम्म राष्ट्रिय सभा पनि चल्न दिने अवस्थामा आफ्नो पार्टी नरहेको स्पष्ट पारे ।

यस्तै एमालेको विरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक २०७८ टेबुल भएको छ । उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको विरोधका बीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका हुन् ।

राष्ट्रिय सभा बैठकको प्रारम्भमा बोल्दै नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरूलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागू गराउनका लागि सभामुखको भूमिका हुनु गलत भएको बताए । उनले नेकपा एमालेले कारबाही गरेका सांसदहरूको सूचना सभामुखले अहिलेसम्म पनि टाँस नगरेको भन्दै राष्ट्रिय सभा बैठकको अवरोध जारी राख्ने बताए ।

प्रतिक्रिया