कांग्रेस १४औं महाधिवेशनः जिल्ला सभापतिका उम्मेदवार बन्न दुईथरी नीति

admin

काठमाडौं, ८ भाद्र : नेपाली कांग्रेसले आगामी अधिवेशनमा पार्टीको जिल्ला नेतृत्वका लागि हुने सभापतिको उम्मेदवार बन्न दुईथरी नीति बनाएको छ ।

कांग्रेसको विधानमा जिल्ला सभापति बन्न तोकिएको व्यवस्थाविपरीत ३० साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले एउटा निर्वाचन क्षेत्र हुने जिल्लामा एउटा र एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लामा फरक नीति तय गरेको हो ।

कांग्रेस विधानमा जिल्ला सभापति बन्न कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट जिल्ला सभापतिको निर्वाचन हुने व्यवस्था उल्लेख छ ।

विधानमा समानता, निर्देशिकामा भेदभाव
तर, केन्द्रीय समिति बैठकले भने विधानविपरीत एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा भने क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिका लागि उम्मेदवार बन्न पाउने व्यवस्था गर्ने निर्णय गरेको हो । यस्तै एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका हकमा भने महाधिवेशन प्रतिनिधिमध्येबाट नै जिल्ला सभापति चयन हुनेगरी निर्देशिका बनाइएको छ ।

‘एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिका उम्मेदवार बन्न पाउँछन्, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनैपर्छ,’ कांग्रेसका एक पदाधिकारीले भने ।

कांग्रेस नेता रामहरि खतिवडा भने एक निर्वाचन क्षेत्र भएका जिल्लामा एउटा नियम र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा अर्को नीति ठीक नभएको बताउँछन् ।

‘एक निर्वाचन क्षेत्र भएका जिल्लामा एउटा नियम र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा अर्को नियम ठीक होइन, दुईथरी व्यवस्था नगरौं, यसलाई अझै सुधार्न सकिन्छ, यसतर्फ ध्यान दिऔं,’ नेता खतिवडाले भने । कांग्रेस विधानमा जिल्ला सभापति पदमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्नेहुन्छ ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारबीच पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ । तर, पहिलोपटकमा नै दुई जना मात्रै उम्मेदवार भएमा बढी मत ल्याउने व्यक्ति निर्वाचित हुनेछ ।

कांग्रेसले १४औं महाधिवेशनको नयाँ कार्यतालिका ल्याइसकेको छ । नयाँ कार्यतालिकाअनुसार कांग्रेस अब १८ भदौबाट मूल प्रक्रियामा प्रवेश गर्नेछ । यस्तै नयाँ कार्यतालिकामा गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तोकिएको छ । केन्द्रीय महाधिवेशन भने ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने तय भइसकेको छ

जिल्ला सभापतिहरू धर्ना बस्दै
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले आज मंगलबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गर्दै छन् । कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले मुख्य तीन मागसहित आफूहरू नेतृत्वविरुद्ध पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बस्न लागेको जानकारी दिए ।

‘पटकपटक महाधिवेशन सारिएको छ, विधिविधानको पालना हुनुपर्छ, सदस्यता वडाबाट जिल्ला हुँदै सिफारिस भएर आएकालाई मान्यता दिनुपर्छ, केन्द्रबाट थपिएकालाई मान्न सकिँदैन, जिल्ला सभापतिका लागि विधानले तोकेको मापदण्ड सबैलाई समान र एकरूपता हुनुपर्छ । यिनै मागसहित हामी धर्नामा सुरु गर्दै छौं,’ कांग्रेस नुवाकोटका सभापति केसीले राजधानीसँग भने ।

यसैगरी, काभ्रे सभापति मधु आचार्यले पार्टी विधिविधान अनुसार चल्नुपर्ने, पार्टीले क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्नुपर्नेलगायतका आफूहरूको माग रहेको बताए । ‘क्रियाशील सदस्यतामाथि ५ हजार बढी उजुरी आएको सुनियो तर के कसरी छानबिन तथा सुनुवाइ भयो थाहा छैन, सदस्यताको सूची तत्काल सार्वजनिक गरिनुपर्छ, कांग्रेसजस्तो मासबेस पार्टीले सदस्यता लुकाउनुपर्दैन, सार्वजनिक गरियोस्,’ काभ्रे सभापति आचार्यले भने ।

हाल क्रियाशील सदस्यताका विषयमा बारा र सप्तरीमा जिल्लाभर विवाद छ । यस्तै, धनुषा–४ सर्लाही–२, रसुवा र सिन्धुपाल्चोकका केही स्थानका सदस्यताका विषयमा पनि विवाद कायम छ । यी सबै नयाँ सदस्यतामा देखिएका विवाद हुन् ।

नयाँ सदस्यताका विषयमा विवाद हुँदा कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले यसअघि नै देशभरका १ सय २१ वटा वडाको नयाँ सदस्यता स्थगित गर्न पार्टी पदाधिकारीसहित शीर्ष नेतृत्वलाई सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो ।यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया