कानूनीरुपमा मारिएका सुवासले बल्ल पाए जीवितको प्रमाणपत्र

admin

विराटनगर, २९ साउन :  जीवित हुँदै परिवारले मृ त्यु दर्ता गरिदिएपछि फेरि जीवित भएको प्रमाण प्राप्त गर्न कति दुःख र हन्डर खानुपर्छ भन्नेमा गतिलो उदाहरण बनेका छन्– मोरङ बेलबारीका सुभाष तामाङ ।

उनले आफु जीवितै भएको प्रमाण प्राप्त गर्न तीन वर्ष कुर्नुमात्र परेन, निकै सास्ती झेल्नु परेको छ । पञ्जीकरणमा मृतक उल्लेख भएको तर आफू जीवितै रहेको अवस्थामा उनले नागरिकताका लागि स्थानीय तहदेखि गृह मन्त्रालयसम्म तीन वर्षदेखि भौंतारिनु परे पनि बल्ल आफू जीवित रहेको प्रमाणपत्र प्राप्त गरेका छन् । तीन वर्ष धाएपछि बल्ल बिहीबार सुभाषले नागरिकता प्राप्त गरे । उनले आफू जीवित भएको प्रमाण पनि प्राप्त गरेका छन् ।

उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका छन् । निरौलाले मृत्युदर्ता हुनु अघि भोजपुरबाट बसाई सराई गरेर मोरङ आएको प्रमाणको आधारमा सुभाषको मृत्युदर्ता झुटो ठहर भएपछि नयाँ नागरिकता दिएका हुन् । उक्त निर्णयसँगै सुभाषलाई प्रजिअ निरौलाले जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २०६० पुस २१ गते जारी भएको ४८४१–११–२५४४ नम्बरको पुरानै नागरिकताको नयाँ प्रतिलिपि हस्तान्तरण गरेका हुन् ।

मोरङ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएपछि हर्षित हुँदै सुभासले रातोपाटीसँग भने, ‘नागरिकता प्राप्त गरेको आजको दिन मैले संसार जितेजस्तो लागेको छ ।’

आफू जीवितै भएको प्रमाणसहित नागरिकता प्राप्त गर्न आफूले तीन वर्षसम्म धेरै हन्डर र दुःख भोग्नु परेको उनले सुनाए । नागरिकताका लागि स्थानीय तह र गृह मन्त्रालयसम्म पुगेको सम्झँदा त धेरै दुःख लागेको उनले बताए ।

ढिलै भए पनि नागरिकता पाएकोमा आफूलाई खुसी लागेको उनले जनाए । ‘यति भएपछि अब म जीवितै रहेको प्रमाणित भयो,’ उनले भने, ‘फेरि एक पटक विदेश गएर काम गर्ने चाहना सार्थक भएको छ ।’ यो बीचमा पञ्जीकरणमा मृ त्यु घोषित भइसकेका कारण उनलाई सरकारी कार्यालयबाट सेवा लिन समस्या भएको थियो ।

पञ्जीकरणको अभिलेख अनुसार नै गृह मन्त्रालयको नागरिकता र राहदानीसम्बन्धी विद्युतीय अभिलेखमा पनि उनलाई मृतक घोषित गरिएको थियो । उनले नयाँ नागरिकता लिनका लागि अनेकौं प्रयास गरे पनि समस्या भोग्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आवश्यक प्रकृया पूरा गरी सुभाषलाई प्रतिलिपि नागरिकता प्रदान गरिएको जानकारी दिए ।

https://www.youtube.com/watch?v=hAWQP8YGQBI

प्रतिक्रिया