justnep single

काम गर्ने वातावरण छैन फेरि कहिले संसद विघटन हुने हो, आयोगमा र सर्वोच्चमा सेटिङ : सांसद

admin

काठमाडौं, ३० चैत : प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद चाँदतारा कुमारीले काम गर्ने वातावरण नभएको बताएकी छिन् । उनले फेरि प्रतिनिधिसभा विघटन हुन्छ कि भन्ने भयले आफूहरु हतोत्साहित भएको बताइन् ।

प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्ने क्रममा उनले भनिन्, ‘सांसदलाई काम गर्ने वातावरण छैन । संसद कहिले विघटन हुन्छ कि भन्ने कौतुहल भएकाले सबै हतोत्साहित भएका छन् ।’ उनले संसदीय समितिका कामकारबाही प्रभावकारी नभएको पनि बताइन् ।

आयोगमा र सर्वोच्चमा ‘सेटिङ’
प्रतिनिधिसभा बैठकमा राज्यका हरेक निकाय सेटिङको आधारमा चलेको गम्भीर सवाल उठेको छ । राजनीतिक विषयमा निर्वाचन आयोग र सर्वोच्च अदालतले ‘सेटिङ’ को आधारमा फैसला गरेको आवाज उठाइएको छ । यस्तै बैठकमा बोल्दै सांसद अञ्जना विशंखेले लोक कल्याणकारी र जनपक्षीय बनाउन राज्यका हरेक निकायलाई संस्थागत रुपमा राज्य चल्न दिनुपर्ने बताइन् ।

‘चाहे राष्ट्रपतिले होस् चाहे प्रधानमन्त्रीले होस्, जसले जल्ती गर्छ स्वायत्त संस्थाले गल्ती गर्नेलाई दण्ड दिनुपर्छ’ उनले भनिन्, ‘तर बिडम्बना यतिबेला सेटिङका आधारमा हरेक कुराहरु निर्णय गरिन्छ । चाहे निर्वाचन आयोग होस् चाहे त्यो सर्वोच्च अदालतका पार्टीसम्बन्धी फैसला होस् ।’ संसदीय समितिले गर्ने निर्णयहरु समेत सेटिङका आधारमा हुने गरेको भन्दै उनले आक्रोश पोखिन् ।

सत्ता टिकाउन जसपालाई ललिपप देखाउँदैछन्
प्रतिनिधिसभामा सांसद्हरुले कविता सुनाउने लहर नै चलेको छ । यसअघि शान्ता चौधरी र महेश बस्नेतले संसद्मा कविता सुनाइसकेका छन् । सोमबार सांसद् इन्दुकुमारी शर्मा शर्माले पनि कविता वाचन गरेकी छिन् । उनले यसरी सुनाइन् आफ्नो कविता :-

बालुवाटारबाटै विकासको मूल फुटेको सुनेर मेरो पनि आज जोश जाग्यो
संसद्मा कविता वाचन सुनेर मलाई पनि कविता भन्न मन लाग्यो ।
जनताको भोटले दुई तिहाइको सरकार बनाए
सनकको भरमा संसद् विघटन गराए
मै हुँ संविधान, मै हुँ कानुन, मै हुँ राज्य भन्दैछन्
अझै पनि संसद् विघटन गर्ने दाउपेच बुन्दैछन्
संसद् विघटन ठीक हो भन्नेहरु लाभको पद कहिले पाइन्छ भन्दै दिन गन्नेहरू
सर्वोच्चले संसद् विघटनको निर्णय उल्टाइ दिएको छ
संविधान र कानुनका पानाहरू पल्टाइ दिएको छ
बुझेर पनि बुझ पचाएका छन्, जनतालाई सित्तैमा सताएका छन्
नैतिकताको खडेरी परेको छ, इमान धरम मरेको छ
सत्ता टिकाउन जसपालाई ललिपप देखाउँदैछन्
झूटा आश्वासन दिइ फेरि मधेशीलाई फसाउँदैछन्
विश्वासको मत लिने ठाउँमा अझै नाटक गर्दैछन्
संसद्लाई बिजनेस नदिएर भ्रमको खेती छर्दैछन्
बालुवाटारमा ककटेल पार्टी गर्दै हामी कसरी नाच्न सक्छौँ
सारा जनता रोइरहँदा हामी कसरी हाँस्न सक्छौँ ।

नागरिकलाई ५ हजारको लोभ देखाएको आरोप
सांसद उमा रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई ढाँटेको आरोप लगाएकी छिन् । उनले घरी रेल ल्याइदिने त कहिले रोजगारी दिने भन्दै प्रधानमन्त्रीले नेपाली जनतालाई ढाँट्ने गरेको भन्दै जेष्ठ नागरिकलाई पनि त्यसै गरिरहेको आरोप लगाइन् ।

ओलीले जेष्ठ नागरिकलाई भत्ता बढाउने भन्दै आएपनि ५ हजार पुर्‍याएको भन्दै अहिलेको बजेटबाट पनि नदिएर ढाँट्न सक्ने भन्दै उनीहरुलाई दिएको आश्वासन पुरा गर्न सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा आग्रह गरिन् । यस्तै सांसद अनिलकुमार झाले अपांग, जेष्ठ नागरिक, दलित लगायतले पाउने सामाजिक सुरक्षा भत्ताको नवीकरण सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया