justnep single

कि संसदको पुनर्स्थापना हुन्छ कि सर्वनाश : घनश्याम भुसाल

admin

काठमाडौं, माघ २४ : नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधि सभा पुनर्स्थापना नभए सर्वनाश हुने बताएका छन्। उनले देश सर्वनाश हुन्छ कि ओली वा आफ्नो समूह सर्वनाश हुन्छ त्यो भने खुलाएनन्।

नेता भुसालले यतिमात्र भने, ‘प्रधानमन्त्री ओलीको कदमपछि अब अरू कुनै उपाय छैन, कि संसदको पुनर्स्थापना हुन्छ, कि सर्वनाश। यो पक्का हो।’फागुन दोस्रो सातादेखि देशमा डरलाग्दो राजनीतिक संकट आउने उनले चेतावनी दिए। उनले भने, ‘अबको विकल्प कि प्रतिनिधि सभा पुनर्स्थापना कि सर्वनाश।’

अबको तीन सातामा संसद पुनर्स्थापना नभए देश बर्बादीतर्फ अघि बढ्ने उनले चेतावनी दिए। उनले भने, ‘त्यसलाई जोगाउन आम नेपाली एक ठाउँमा उभिनुको विकल्प छैन।’ झापाको विर्तामोडमा आफ्नो समूहका कार्यकर्तालाई प्रशिक्षण दिँदै शनिबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक गतिविधिका कारण मुलुक राजनीतिक संकटमा पुग्न लागेको दाबी गरे।

प्रधानमन्त्री केपी ओलीले विघटन गरेको संसद पुनर्स्थापनाको मुद्दा सहजै जितिनेमा नेता भुसाल विश्वस्त थिए। उनले यतिसम्म भने कि ‘यो मुद्दा जितिएन भने सर्वनाश हुन्छ। त्यसैले संसद पुनर्स्थापनाको मुद्दा कुनै पनि हालतमा जित्नै पर्छ। फेरि पनि दोहोर्‍याउँदै उनले भने, ‘सर्वनाश हुन दिनु हुँदैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले जे भन्यो प्रचण्डले त्यही मानिदिँदा वर्तमान परिस्थिति आएको उनको आरोप थियो। ‘सत्ताबाहेक अरू केही नदेख्ने प्रधानमन्त्री ओलीले सत्ता मोहबारे पनि केही बुझेका छैनन्,’उनले भने, ‘प्रचण्डले त झन् बुझेकै रहेनछन्। ओलीले जे-जे भन्यो त्यही त्यही मानिदिँदा ओलीको सत्तामोह बुझेको कतै हुन्छ ?’

प्रतिक्रिया