कोरोनाको संकटमा प्राथमिक मन‍ोबैज्ञानिक सहयोग

रबि धिताल
  • गोपाल ढकाल मनोविद,
    मार्क नेपाल मनोसेवा केन्द्र

बिश्व नै अहिले कोरोना भाईरसको प्रकोपले आक्रान्त बनेको छ । बिश्वले ठूलो संकटको सामना गरिरहेको छ । प्राय धेरै जसो देशहरु लकडाउको अबस्थामा छन । मानिसहरु घर भित्र नै सेल्फ क्वारेन्टाइनमा बस्न बाध्य भएका छन ।

अहिलेसम्म बिश्वमा एक लाख भन्दा बढिको मुत्यु भै सकेको छ । लाखौमा संक्रमण देखिएको छ । विषम परिस्थिति मा , सार्हो गार्‍होमा परिबार तथा आफन्तको खुबै याद आउँछ ।

अझ बिरामी पर्दा त परिबारको सदस्य आफुसँगै नजिक होस भन्ने सबैको चाहना हुन्छ । आफन्तको न्यानो स्पर्शले आधा समस्या वा रोग तल निको भए झै महसुस हुन्छ । यस्तो अबस्थामा प्रियजनलाई अंगालो मारेर रुँदा आशुसँगै सारा पीडा बगेर गए झै लाग्छ । तर अहिलेको अबस्था फरक छ । कसैमा कोरोनाको आशंका वा रोग देखिएमा संक्रमणको भयले परिवारका सदस्य नजिक जाने अबस्था छैन ।

आफन्तको मुत्यु हुदा पनि टाढैबाट हेर्नू पर्ने मर्म स्पर्शी दुश्यहरु अहिले बिश्वसामु देखा परेको छ । मानिसलाई अहिलेको अबस्थामा मर्छु कि भन्दा पनि मर्दा एक्लै पो हुँला कि भन्ने चिन्ताले बढि सताएको देखिन्छ । सबैका लागि अहिलेको अबस्था मानसिक रुपमा अत्यन्तै कारुणिक र मर्माहित बनाउने अबस्था हो ।

आपत बिपतको अबस्थामा सबैलाई आफ्नो घर, परिबार , आफन्तको याद आउँछ । परिबारसँगै बस्ने चाहना हुन्छ । लकडानउनले गर्दा कतिलाई त्यो सम्भव भई रहेको छैन । घरबाट टाढा वा बिदेशमा भएकाहरु चाहेर पनि आउन सकिरहेका छैनन । धेरै नेपालीहरु सिमानामै रोकिएका पनि छन ।

दिन दिनै लकडाउनको समय थपिदै गएको छ । फकडाउनको समय बढदै जादा जटिलताहरु स्बभाबिक रुपम थपिदै जान्छन । धेरैलाई आर्थिक संकटले सताउदै गएको छ ।दैनिक ज्यालादारीबाट जीवन गुजारा चलाउनेहरु त झनै मारमा परेका छन । यी यावत कारणले गर्दा मानिसमा डर ,चिन्ताको समस्या बढदै गएको छ । अनिश्चित भबिष्यको भयले नैरस्यता बढाउदै लगेको छ । निन्दा लाग्न छाडेको छ। छट्पटी , चिटचिटाहट बढदै गएक‍ोछ । मानिसहरुले आफुलाई असुरक्षित महसुस गर्दै गएका छन । जसको कारण मानसिक स्वास्थ्यमा समेत समस्या देखिदै गएको छ ।

विषम परिस्थितिमा अाबस्यक पर्ने मनोबैज्ञानिक सहयोगको अभाबमा दिन प्रतिदिन यस्ता अप्रिय घटनाहरु बढदै गएका छन । कोरोना संक्रमित भएको आशंकामा गाउँलेहरुले विभेद गरेपछि पीडा सहन नसकेर भारतमा एकजना युवाले आत्महत्या गरेका छन । भारतमा नै अर्को एक युबाले आफू कोरोनाको संक्रमित भएको भयले उपचारको क्रममै र रिपोर्ट समेत नआउदै अस्पतालबाट हामफालेर आत्महत्या गरेका छन ।

इटालीको एक नर्सले आफू कोरोना भाईरसको संक्रमित भएको थाहा पाएपछि आत्महत्या गरिन । फ्रान्सेली फुटबल टिमका एक जना चिकित्सकले पनि आफू संक्रमित भएको थाहा पाएपछि सुसाइट नोट लेख्दै आत्महत्या गरेका छन । भारतक‌ो अर्को एक घटनामा भाईरल ज्वरोलाई क‍ोरोना लागेको ठानि आफुबाटअरुलाई सर्ने डरले एक ब्यक्तिले आत्महत्या गरेका छन । यी र यस्ता घटनाहरु दिन प्रति दिन बढदै समेत गएका छन । यि सबै घटनाहरु कोरोनाको कारण ब्यक्तिमा परेको मानसिक असरको परिणम हुन ।
नेपालमा समेत बिदेशबाट आएका , रोग लागेको आशंका गरिएका वा उपचारको क्रममा रहेका हरुलाई विभेद गर्ने , अपमान गर्ने , मनमा चोट पुर्याउने व्यवहार गरेको देखिन्छ ।
यस्ता घटनाहरु बढदै जानुले मनोबैज्ञानिक सहयोगक‍ो आबस्यकता बोध गराउछ ।

प्राकृतिक बिपति , रोगको प्रकोप तथा मानव सिर्जित अन्य दुखद घटनाहरुले व्यक्तिको मन र समाजमा असहज अबस्था उत्पन्न गरिदिन्छ । यस्तो असहज अवस्थालाई सामान्य बनाउन भाबनात्मक सहयोगको अति जरुरत पर्दछ ।


प्रभावित ब्यक्ति र समुदायलाई दिईने भावनात्मक तथा व्यवहारिक सहयोग नै प्राथमिक मनोबैज्ञानिक सहयोग हो । यस्तो बेलामा अरुको मनोबेदना बुझि साथ, सहयोग तथा हौसला प्रदान गर्नु जरुरी हुन्छ । आत्मबल बढाउने काम गर्नुपर्छ ता कि रोगसँग हार नमानिकन जुझ्न सकुन ।

विषम परिस्थितिमा मनमा आउने अशान्ति , डर – चिन्ता , तनाब , नैरस्यता जस्ता भाबनात्मक समस्यालाई कम गर्न र दैनिक जिवनमा आउने व्यवहार जन्य गडबढीलाई ब्यबस्थापन गर्न प्राथमिक मनोबैज्ञानिक सहयोगले मद्दत गर्छ । मनोबैज्ञानिक सहयोग पाएको खण्डमा धेरै जसो समस्या केही समयको अन्तराल पछि आफै कम भएर जान्छ। यसका साथै प्रभावित व्यक्ति वा समुदायलाई बेलैमा प्राथमिक मनोबैज्ञानिक सहयोग प्रदान गर्ने हो भने पछि देखापर्न सक्ने मानसिक एवं मनोसामाजिक समस्यालाई समेत कमगर्न सकिन्छ ।

मनोबैज्ञानिक सहयोग दिँदा जोखिममा परेका ब्यक्तिहरु जस्तो बालबालिका , सुत्केरी तथा गर्भवती महिला, जेष्ठ नागरिक , अशक्त , अपांग , दिर्घ रोगी आदि ब्यक्तिहरुलाई बिशेष प्राथमिकतामा राख्नु पर्छ ।

स्बाथ्यकर्मी , सुरक्षाकर्मी , पत्रकारहरु पनि आ – आफ्नो कार्य क्षेत्रमा दिन रात खटि रहेकाछन । जोखिमको बेला अग्रपङतिमा खटिने ब्यक्तिहरुलाई पनि मनोबैज्ञानिक असर वा मानसिक आघात पर्न सक्ने जोखिम धेरै हुन्छ । उनिहरुका लागि पनि मनोबैज्ञानिक सहयोग तथा स्व हेरचाहको अति जरुरत पर्दछ ।

बिपत्तिको बेला सामान्यतया सबैको मनमा असर पर्छ । यस्तो संकटको बेला दैनिक जिवनलाई सुचारु राख्न आबस्यक साथ , सहयोग मिलेको खण्डमा र भाबनात्मक वा मनोबैज्ञानिक सहयोग पाउँदा ढिलो चाँडो प्राय सबै जसो ब्यक्तिहरु पुर्ब अबस्थामा फर्कन्छन । कतिपयमा भने जटिलता बढदै गएर मनोसामाजिक समस्या वा मानसिक रोग देखापर्न पनि सक्छ ।

कोरोनाको असरले ल्याउन सक्ने मानसिक समस्या :
१. एन्जाईटी – विभिन्न किसिमका डर – चिन्ता वन्य समस्याहरु ।
२. डिप्रेसन – दिक्दारिपन तथा आत्महत्याको सोचाई वा प्रयास
३. मानसिक आघात – पिडादायिक घटना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।
४. प्यानिक अट्याक – एक्कासि बिना कारण उत्पन्न हुने अत्याधिक त्रास ।
५. समायोजनको समस्या – परिस्थितिसँग जुझ्न नसकिरहेको अबस्था ।
६. अब्सेसिभ कम्पल्सिभ डिसअडर्स – एउटै सोच वा बिचार आईरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहोर्‍याई रहने मानसिक रोग ।
७. जाँड रक्सि , लागू प्रदार्थको लत ।
८. कन्भर्सन डिसअडर्स – डर, त्रास , तनाबको कारणले देखिने मनोबैज्ञानिक समस्या ।
९. एक्युट स्टेस डिसअडर्स – तत्कालै देखा पर्ने तनाब जन्य समस्या ।

प्राथमिक मन‍ोबैज्ञानिक सहयोग कसरी गर्ने ?
आफु र अरुलाई हानी नोक्सानी नपुग्ने गरि सकेको सहयोग एकले अर्कालाई पुर्‍याउन सक्छौ । प्राथमिक मनोबैज्ञानिक सहयोगको हकमा भने यसको सामान्य ज्ञान वा तालिम लिएको जो सुकै ब्यक्तिले यस्तो सहयोग गर्न सक्छ । यो सेवा दिन मनोविद , मनोचिकित्सक , मनोपरामर्शदाता नै चाहिन्छ भन्ने होइन ।

१ कोरोनाको संक्रमण र यसबाट बच्ने उपायबारे भरपर्दो , सत्य तथ्य सुचना तथा जानकारी गराउने ।
२ कोरोनाको अनावश्यक डर त्रास नदेखाउने , सुरक्षाको पुर्ण प्रत्याभुति गराउने।
३. दैनिक आधारभूत आबस्यकता बस्तु परिपुर्ति गर्न सहय‍ोग गर्ने ।
४ . अर्काको भवनाको कदर गर्ने ,भाबनात्मक रुपमा सधै नजिक रहने ।
५. संक्रमणको आशंका गरिएका , आईसोलेसनमा बसेका तथा सेल्फ क्वारेन्टाइनमा रहेकाहरुलाई माया , ममता , सदभाव देखाउने ।
६. परिबारबाट टाढा भएकाहरुलाई सामाजिक दुरि कायम गर्दै पुनः मिलन गराउन मदत गर्ने ।
७. ब्यक्तिको दैनिक जिबनलाई सहज र सूजनात्मक बनाउन सहयोग पुर्‍याउने ।
८. विषम परिस्थितिमा ब्यक्तिले देखाउन सक्ने नकारात्मक ब्यबहारको ख्याल गर्दै उनिहरुलाई सकारात्मक व्यवहार गर्न हौसला प्रदान गर्ने ।
९. पुरानो रोग बल्झिएमा , खाईरहेको अौषधिले काम गर्न छोडेमा चिकित्सकसँग सम्पर्क गराउने।
१०. प्रभावित ब्यक्तिको कुरा ध्यान दिएर सुन्ने , उसलाई आफ्न‍ो मनको कुरा भन्न प्रेरित गर्ने ।
११. ब्यक्तिको रुचि अनुसारको कार्यमा सक्रिय गराउने । दैेनिक कार्य सुचारू राख्न सहयोग गर्ने ।
१२. मनोबैज्ञानिक समस्या जटिल हुँदै गएमा
मनोचिकित्सक , मनोविद वा मनोपरामर्शदातासँग सम्पर्क गराउने ।

प्रतिक्रिया