डराइ-डराइ प्रधानमन्त्री देउवाको अभिव्यक्तिप्रति विरोध जनाउँदै नेता थापाद्वारा पत्रकारलाई दोष

admin

काठमाडौं, ६ साउन : नेपाली कांग्रेसका नेता गगन कुमार थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार सरकारले गर्ने भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइको विरोध गरेका छन् । तर, विरोध गर्दै गर्दा उनले निकै डराएको जस्तो भाषा प्रयोग गरेको देखिन्छ ।

उनले प्रस्ट शब्दमा खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेर प्रधानमन्त्रीले गलत काम गरे भनेका छैनन् । नेता थापाले राज्यकोषबाट रकम लिएर विदेशमा नेताको उपचार गरिनु गैरकानुनी भएको बताएका छन् । प्रधानमन्त्री देउवाले दिल्लीमा उपचाररत एमाले नेता तथा पूर्वप्रधानमन्त्री खनालको उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने बताएपछि थापाले सोको विरोध गर्दै यस्तो बताएका हुन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा गरिएको संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’, भन्ने व्यवस्था रहेको स्मरण गराएका छन् ।

उक्त कानून २०७५ असोज २ गतेदेखि लागू भइसकेको उल्लेख गर्दै थापाले भनेका छन्, ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।’

थापाले खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको भन्दै उनीसँग संसदमा सँगै काम गर्न आफूहरु प्रतिक्षारत रहेको बताएका छन् । उनलाई उपचारका लागि सहयोग जरुरत नै परेको खण्डमा देश विदेशमा रहेका सबै नेपाली हरदम तयार रहेको उल्लेख गर्दै बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।’

थापाले अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी देउवा सरकारले बोक्ने छैन भन्नेतर्फ सचेत पनि गराएका छन् । यस्तै नेता थापाले प्रस्ट शब्दमा प्रधानमन्त्रीको यो भनाइ गलत हो भन्नुको सट्टा ‘प्रधानमन्त्रीले भनेकै होइनन् बरु प्रधानमन्त्रीको भनाइ भन्दै पत्रकारले गलत समाचार लेखेका हुन्’ भन्ने आशय व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले खनालको उपचार सरकारले गर्ने भनेर स्वयं खनाललाई टेलिफोनमा भनेको समाचार कुनै निजी मिडियाले नभइ सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया