justnep single

ओली समूहले देशलाई गम्भीर दुर्घटनाको दिशामा लैजान लागेको छ : डा. भट्टराई

admin

अर्घाखाँची, २० माघ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशलाई गृहयुद्धबाट बचाउन र सरकारको प्रतिगमन कदमविरुद्ध अन्य दलसँग सहकार्य गरेर आन्दोलनमा जान आफूहरू तयार रहेको बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा प्रेस नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले गणतन्त्रको रक्षाका लागि दलहरू एक भएर आन्दोलनमा उत्रनुपर्ने बताए ।

नेता भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापना नभए देश गृहयुद्धमा जाने बताउँदै प्राप्त उपलब्धिको रक्षाका लागि देशमा संयुक्त आन्दोलन आवश्यक रहेको बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-नेपाल समूहसँग सहकार्य गरेर आन्दोलनमा उत्रन जनता समाजवादी पार्टी तयार रहेको र संयुक्त आन्दोलनका लागि कुराकानी भइरहेको उनको भनाइ छ ।

बैशाखमा चुनाव हुने कुनै सम्भावना नरहेको बताउँदै नेता भट्टराईले देशलाई गम्भीर दुर्घटनाको दिशामा लैजान केपी ओलीको समूह लागेको बताए । ‘प्रधानमन्त्री ओलीको कदम नेपालको संविधान र लोकतन्त्रको मर्म विपरीत छ । प्रकारान्तमा यो अवस्थाले देश गम्भीर दुर्घटनामा फस्दै छ’, उनले भने ।

संविधानका चार खुट्टा गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समावेशिता रहेको बताउँदै यी चार खुट्टाबाट नेपालको संविधानरूपी खाट तयार भएको बताए । यीमध्ये जुनसुकै खुट्टा भाँचिदिए पनि खाट सुत्न योग्य नहुने भए जस्तै संविधान पनि तयस्तै हुने नेता भट्टराईको भनाइ छ ।

उनले भने, ‘केपी ओलीले प्रतिनिधि सभा विघटन गरेका छन् । जसका कारण चार वटै खुट्टा हल्लिएका छन् । जुनै पनि बेला धर्मराएर खाट भाँचिने र खाट ढल्ने खतरा छ । संविधानका चार वटै खुट्टा काट्ने दिशामा ओली लागेका छन् ।’

प्रतिक्रिया