justnep single

दैलेखमा सयौँ विद्यार्थी बिरामी हुँदा तीन दिनका लागि विद्यालय बन्द

admin

दैलेख, ११ चैत : नारायण नगरपालिका-५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी काँप्ने लगायतले विद्यार्थी थला परेपछि मंगलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए ।

उनका अनुसार आइतबार करीब एक सय ५०, सोमबार करीब एक सय र मंगलबार ८५ जना विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो । विद्यार्थी बिरामीले ग्रसित भएको खबर जल्ला अस्पताल दैलेखमा पुगेपछि डा. विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताए ।

विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले जानकारी दिए । बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिनुभएका डा. गुरुङले जानकारी दिए । यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ ।

हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा. गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताए ।​ सयौंँ विद्यार्थी दुई दिनदेखि बिरामी पर्दा निकै चिन्तित भएको स्थानीयवासी यामराज कटुवालले बताए ।

विद्यार्थी मात्र नभइ नारायण -५ छातीकोटका धेरैजसो घरमा बिरामी परेको जनाइएको छ । टोलमा धेरै बिरामी परेको खबर पाएपछि अहिले स्थानीय स्वास्थ्यचौकीमा बिरामीको भीड लाग्ने गरेको स्वास्थ्यचौकी प्रमुख षडानन्द शर्माले बताए ।

प्रतिक्रिया