पार्टी विभाजनका लागि झलनाथले दिल्लीबाट सनाखत गर्न नपाउने

admin

काठमाडौं, ८ भाद्र : निर्वाचन आयोगले एमाले विभाजनका लागि झलनाथ खनाललाई दिल्लीस्थित अस्पतालबाटै सनाखत नगराउने भएको छ। खनालका तर्फबाट आयोगमा दिल्लीस्थि दूतावासमार्फत सनाखत गराई दिन निवेदन दिए पनि आयोगमै उपस्थित हुनुपर्ने निर्णय गरेको हो।

राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीले ‘आयोगमै उपस्थित भइ’ सनाखत गराउने व्यवस्था गरेकाले अस्पताल पुगेर सनाखत गराउन नमिल्ने निर्णय भएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए।

उनले देश सञ्चारसँग भने, ‘आयोगमै उपस्थित भई सनाखत गरानुपर्ने कानुनी व्यवस्था छ। त्यसो भएकाले उहाँलाई अस्पतालमा पुगेर दूतावासमार्फत सनाखत गराउन नमिल्ने निर्णय भएको छ।’ खनाल दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि उपचार गराइरहेका छन्।

आयोगले बुधबार दल विभाजनका लागि सनाखत गर्न प्रस्तावित एकीकृत समाजवादीको पक्षमा रहेका एमालेका केन्द्रीय सदस्य एवं सांसदलाई बिहान ११ बजेदेखि २ बजेसम्म उपस्थित हुन भनेको छ।

खनाललाई अहिले दिल्लीबाट सनाखत गराएको अवस्थामा प्रदेश र स्थानीय तहमा समेत आउन नसक्नेलाई वारेसमार्फत सनाखत गराउनुपर्ने बाध्यात्मक अवस्था आउने विश्लेषण आयोगले गरेको छ।

त्यस्तै आयोगले विभाजनको पक्षमा भदौ २ गते दिएको निवेदनमा हस्ताक्षर नगर्ने केन्द्रीय सदस्य एवं सांसदहरुलाई पनि सनाखत नगराउने निर्णय गरेको छ। पार्टी विभाजनका लागि एमालेका २०३ जना केन्द्रीय सदस्यमध्ये २ गते ५८ जना केन्द्रीय सदस्यको नाम पेश गरिएको थियो। त्यसमा सातजनाको नाम उल्लेख भए पनि हस्ताक्षर नगरिएको पाइएको छ।

सचिव अधिकारीका अनुसार निवेदन पत्रमा नाम भएका र हस्ताक्षर नगरेका व्यक्तिहरुले समेत सनाखत गर्न नपाउने बताए। त्यसरी नाम भए पनि सनाखत नहुनेमा खनालसहित नेताहरु प्रदीप नेपाल, खगेन्द्र चुँडाल, धर्मनाथप्रसाद साह, रविन कोइराला, रविन्द्र बैठा र रत्नेश्वर गोइत छन्।

पार्टी विभाजनका लागि केन्द्रीय सदस्य वा संघीय संसदका २० प्रतिशत सांसदको समर्थन चाहिने अध्यादेशको व्यवस्था छ। नेपाल नेतृत्वको प्रस्तावित एकीकृत समाजवादी गठनका लागि ४१ जना जना केन्द्रीय सदस्य भए पुग्छ। उता संघीय संसदतर्फ २० प्रतिशत पुर्‍याउने हो भने ३१ जना सांसद आवश्यक पर्छ।

प्रतिक्रिया