justnep single

प्रचण्ड-नेपाल समूह पार्टीको आधिकारिकता माग गर्दै, सूर्य चिन्ह र नेकपामाथि आयोगमा दावी

admin

काठमाडौं, १० पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको छ । बिहीबार प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पार्टीका केन्द्रीय कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभाका सांसदसहितको टोली पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको हो ।

यस समूहले आफ्नो पक्षका दुई सय ९५ केन्द्रीय समिति सदस्यको हस्ताक्षर र बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयको आधिकारिक प्रतिलिपि निर्वाचन आयोगलाई बुझाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रचण्ड-माधव समूहले नेकपाको ४४१ केन्द्रीय सदस्यमध्ये मौजुदा रहेका ४३६ जनामध्ये ३१५ जनाको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएको छ ।

पेस गरिएका कागजातलाई नेपालको संविधान, राजनीतिक दलसम्बन्धी कानुनका आधारमा हेरेर छिट्टै नेकपा विवादको कानुनी निरूपण गरिने वचन प्रमुख निर्वाचन आयुक्तले दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । त्यस अवसरमा अध्यक्ष दाहालले नेकपामा वैधानिकताको प्रश्न आएको भन्दै आफूहरू आधिकारिक भएको बताए ।

केन्द्रीय कमिटीका करिब दुई तिहाइको हाराहारीका सदस्यहरू आफूतिर रहेको बताउँदै अध्यक्ष दाहालले सबै स-शरीर उपस्थित भएको र आउँदा दिनमा पनि निर्वाचन आयोगले चाहे दुई सय ९५ सदस्य नै स-शरीर उपस्थित हुन सकिने बताए । स-शरीर उपस्थित हुनुभन्दा ठूलो कुनै प्रमाण हुन नसक्ने जिकिर गर्दै दाहालले पार्टीको आधिकारिकता, चुनाव चिह्न र केन्द्रीय सदस्यहरूको नामावलीलाई वैधानिक व्यवस्थाअनुसार छिट्टै निर्क्योल तथा निर्णय गरिदिन निर्वाचन आयोग समक्ष माग गरे ।

अध्यक्ष दाहाल, नेपालसहित शुक्रबार आयोग पुगेको सो पक्षले निर्वाचन आयोगका पदाधिकारीहरुलाई झण्डै ६७ प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै सूर्य चिन्ह र नेकपा आफ्नो समुहको रहेको दावी गरेको हो । आयोगका पदाधिकारीसँगको छलफलमा अध्यक्ष दाहालले दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया