justnep single

प्रेम दिवसमा यती एयरलाइन्सकाे विशेष अफर

राष्ट्रिय समाचार समिति

काठमाडौं : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान बिस्तार गर्ने योजनामा जुटेको छ। यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्रिएर गन्तव्यका साथै उडान संख्या बढाउने भएको हो।

यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौं आइपुग्ने कम्पनीले बताएको छ।। योसहित यतीसँग ६ थान एटिआर जहाज हुनेछन्। कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागु गरिएको बन्दाबन्दीपछि खुलेको आन्तरिक उडानमा यतीले तीन एटिआर जहाजमार्फत आन्तरिक उडान गरिरहेको थियो।

आगामी मार्चदेखि यतीले हाल भएका पाँचवटै एटिआर जहाज उडाउनेछ। थपिएको एटिआरले पनि छिट्टै उडान भर्ने कम्पनीको योजना छ।

जहाज थपिएपछि मार्च महिनाबाट पूर्ण क्षमताका साथ आन्तरिक उडान हुने यती एयरलाइन्सका हवाई सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। यतीले हाल नौ गन्तव्यमा उडान भर्दै आएको छ।

प्रेम दिवसमा विशेष अफर
प्रेमदिवस (भ्यलेन्टाइन डे) फेब्रुअरी १४ लाई मध्यनजर गर्दै यती एयरलाइन्सले पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा विशेष अफर सार्वजनिक गरेको छ। पर्वतीय उडानमा जाने यात्रुलाई विमानस्थलदेखि घरसम्म बससेवा उपलब्ध गराइनेछ। टिकट भने पुरानै मूल्य अर्थात् आठ हजार ८४८ तोकिएको छ।

अफरअन्तर्गत पर्वतीय उडानका यात्रुलाई प्रेम उपहारका साथै आठ जिबी डेटा तथा एक हजार रुपैयाँ क्यास बराबरको स्मार्ट टेलिकमको सीमकार्ड दिइनेछ।

पोखरा–सिमरा उडान गरिने
आन्तरिक उडानमा बजार विस्तारको रणनीतिका साथ अघि बढेको यतीले छिट्टै पोखरा–सिमरा उडान गर्ने भएको छ। व्यापारिक तथा पर्यटकीय गन्तव्यमा उडान विस्तारको योजना बनाएको यतीले आवश्यक सम्पूर्ण तयारी गरिसकेको छ।

पोखराका पर्यटन व्यवसायी तथा सरोकारवालासँग यतीका प्रमुख कार्यकारी अधिकृतसहितका पदाधिकारीले यसैसाताभित्र अन्तिम छलफल गरी उडान निर्णय लिइने कम्पनीले जनाएको छ।

यतीले पोखराबाट भैरहवा र भरतपुर उडान गर्दै आएको भए पनि कोभिड महामारीका कारण अहिले उडान स्थगित गरिएको छ। उक्त उडान पनि छिट्टै सञ्चालन गरिने जनाइएको छ। यतीले हाल १४ गन्तव्यमा उडान भर्दै आएको छ। कोभिड महामारीकैबीच गत असोज ५ देखि आन्तरिक उडान शुरु भएको थियो। यसअघि भदौ १६ बाटै अन्तर्राष्ट्रिय उडान भएको थियो।

प्रतिक्रिया