भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमण रद्द गर्न ग्रेटर नेपालको माग

admin

काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण सम्बन्धि सबै कार्यक्रम रद्द गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले माग गरेको छ । मोर्चाका संयोजक फणीन्द्र नेपालले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै भारतीय स्थल सेनाध्यक्ष नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान दिन लागिएको विषयप्रति मोर्चाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्तिक १९ देखि २१ सम्म हुन लागेको नरवाणेको नेपाल भ्रमणका क्रममा नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानिले शु-शोभित गर्ने निर्णय नेपाली जनता, नेपालको सार्वभौम संसद र नेपाली सेनाको विरतापूर्ण ख्यातिको अपमान भएको मोर्चाको ठहर छ ।

२०७६ कार्तिक १६ गते इण्डियाले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको जमिन उसको राजनीतिक नक्सामा राखेको र सोही भू-भाग हुँदै चीनको तिब्बत हुँदै मानसरोवर जाने सडक मार्ग जोड्ने सडक निर्माण गरी नेपालको सार्वभौमसत्ता र भू-अखण्डतामाथि प्रहार गरेकोमा नेपालमा त्यसको तिव्र विरोध भएको घटनाप्रति लक्षित गर्दै यो विरोध चीनको उक्साहटमा भएको र त्यो भूमि भारतको भएको भनी नेपालविरुद्ध विष वमन गरेका थिए ।

नेपालविरुद्ध यस्तो विष वमन गर्ने नरवाणेलाई सम्मान गर्ने निर्णय खेदजनक भएकाले मोर्चाले खेद प्रकट गरेको छ । नेपाली राष्ट्रिय अखण्डता र स्वाभिमानमा चोट पुर्‍याउने तथा शत्रुको पाउमा नेपालको शिर निहुर्‍याने नेपाल सरकार बाध्यता नेपाली जनतालाई बताउन पनि मोर्चाले सरकारसँग माग गरेको छ ।

नरवाणेको नेपाल भ्रमण शंकास्पद, आपत्तिजनक त विस्मयकारी भएकोले मोर्चाले यो भ्रमणलाई तत्काल रद्द गर्न माग गरेको छ । यसका साथै नेपालका प्रधानसेनापति र भारतिय सेनाध्यक्षलाई एकअर्को देशको सेनाको मानार्थ महारथी लिनेदिने गलत परम्पराको अन्त्य गर्न पनि मोर्चाले माग गर्दै नेपाली सेनालाई भारतीय सेना भएको आरोपबाट मुक्त राख्न समेत मोर्चाले सरकारसँग माग राखेको छ ।

यदि यी तथ्यलाई उपेक्षा गर्दै नरवाणेलाई नेपालको भू-अखण्डता विरुद्धको अभिव्यक्तिमा सरकारको समर्थनमा रहेको लिम्पियाधुरा, कालापानी, लिपुलेकमाथिको दबाबबाट पछि हटेर सरकार स्वयं राष्ट्रिय अखण्डताविरुद्ध गएको स्पष्ट हुने मोर्चाको ठहर छ ।
हेर्नुहोस् मोर्चाले जारी गरेको वक्तव्य:

प्रतिक्रिया