महोत्तरीको आन्दोलनले स्थानीय तह ठप्प

रबि धिताल

बर्दिवास, १९ असोज : महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प पारेका छन् । भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले आज जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाको कामकाज ठप्प पारेका छन् ।

यही असोज १० गते लेखा अधिकृत अधिकारीलाई नगरप्रमुख सञ्जीवकुमार साहले आफ्नै कार्यकक्षमा हातपात गरेपछि आफुहरु आन्दोलनमा उत्रेको ट्रेड युनियनका अध्यक्ष राजीशरण यादवले बताउनुभयो । “जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि कुनै कारवाही नभएपछि आन्दोलनमा उत्रिएका हौँ,” उहाँले भन्नुभयो । कर्मचारीको आन्दोलनका कारण सर्वसाधारण मारमा परेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कानून र प्रक्रियाअनुसार आफ्नो तहबाट कारवाही प्रक्रिया बढाएको जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया