justnep single

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

admin

काठमाडौं, १ चैत : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले गएको फागुन २३ मा नेकपा (एमाले) र माओवादी केन्द्र बिउँताइदिएपछि पहिलो पटक यस दलको केन्द्रीय कमिटी बैठक बसेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, दलको अवस्था र आउँदा दिनमा खेल्ने रणनीतिका बारेमा छलफल भइरहेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराइरहेका छन् ।

बैठकमा सरकार गठन र त्यसका लागि दलबीच भइरहेको वार्ता प्रक्रियाका विषयमा छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार दलको नाम तथा कम्युनिस्ट पार्टीबीचको एकताको विषयमा समेत बैठकमा छलफल भइरहेको छ ।

यसअघि शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको तथा एमाले पार्टी कमिटीमा रहेका नेतालाई स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया