justnep single

म कुनै समूहमा छैन, ओलीको ठाउँमा भएको भए पहिल्यै राजीनामा दिन्थेँ : वामदेव गौतम

admin

काठमाडौं, २३ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारको कारण अहिलेको समस्या आएको दाबी गरेका छन् । राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतमले प्रधानमन्त्रीले त्याग गर्न सकेको भए अहिले पार्टी पनि नफुट्ने र प्रतिनिधि सभा विघटनको अवस्था पनि नआउने बताए ।

सोही क्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीको ठाउँमा आफू भएको भए राजीनामा दिने बताए । ‘पार्टी जोगाउनको लागि उहाँको निम्ति अवसर थियो, त्याग गर्न सक्नुपर्थ्यो । गौतमले भने, त्यो ठाउँमा म भएको भए अविश्वासको दर्ता गर्नुअघि राजीनामा दिन्थेँ । त्यसले पार्टी एकता जोगिन्थ्यो र इतिहासमा एउटा राम्रो उदाहरण पनि लेखिन्थ्यो ।,

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले ४३ वर्षदेखि सङ्गत गरेको र एउटा गतिलो मित्र मान्ने गरेको तर अहिले यति ठूलो निर्णय गर्दा ओलीले आफूलाई एक पटक पनि नसोधेकोमा गौतमले दुखेसो पोखे । ‘अहिले प्रतिनिधि सभा विघटन गर्दा मलाई एक पटक पनि सोध्नुभएन । यो निर्णय हुँदैछ भनेर मलाई थाहा थिएन’, गौतमले भने, ‘मलाई अविश्वासद्वारा बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्य हुनेवाला छ भनेर पटक-पटक चेतावनी दिनुभएको थियो, आखिरमा उहाँले त्यो गरि छाड्नुभयो ।’

गौतमले प्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव तयार पार्दा आफूले जानकारी नपाएको पनि बताएका छन् । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको समूहको नेता भनेर चिनिएपनि आफूले ओलीविरुद्धको अविश्वासको प्रस्ताव असफल बनाउन भूमिका निर्वाह गरेको दाबी गरेका हुन् ।

उनले भने,‘ अविश्वासको प्रस्तावबाट आफ्नै नेतालाई पराजित गर्ने कुरा मैले सोचेको थिइनँ, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि अविश्वास प्रस्ताव लैजाँदा मलाई सोधिएन।’  पार्टी एकता अनिवार्य छ ।’ त्यस्तै, उनले प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्री ओलीले आफूलाई नसोधेको पनि बताए । प्रतिनिधिसभा विघटन गर्दा आफूले असंवैधानिक भनेको भन्दै अहिले संवैधानिक इजलासमा विचाराधीन रहेकाले आफूले सोबारे टिप्पणी नगरेको बताए ।

राष्ट्रियसभामा नेता गौतमले आफू प्रधानमन्त्री ओलीको आलोचक भएको पनि बताए । “प्रधानमन्त्रीको म कटु आलोचक हुँ । उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराएको हो, उहाँलाई मैले शैली सुधार गर्नुपर्छ भनेर धेरैपटक भनेको छु,” उनले भने, “प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्रीले सोध्नुभएन । मलाई थाहा थिएन ।” गौतमले नेकपामा विभाजन रहेको र त्यसबाट आफू दुखी रहेको पनि बताए ।

गणतन्त्र स्थापना र कम्युनिस्ट पार्टीको एकता गर्ने आफ्नो जीवनको उद्देश्य पूरा भए पनि अहिले नेकपामा विभाजन देखिएको भन्दै उनले भने, “आज म खुसी हुनुपर्ने हो, तर छैन ।” त्यस्तै, उनले अहिले नेकपाभित्रको विभाजनमा आफू कुनै समूहमा नभएको पनि स्पष्ट पारे । पार्टी एकता तीन वर्षमै विभाजन गर्नु थियो भने एकता किन गर्नुपर्थ्यो रु भन्दै उनले प्रश्न पनि गरे । उनले नेकपा विभाजनको औचित्य नरहेको पनि बताए ।

प्रतिक्रिया