justnep single

दुई सर्तमा विप्लवद्वारा सरकारसँग वार्ता गर्न प्रकाण्डसहित दुई सदस्यीय टोली घोषणा

admin

काठमाडौं, १८ फागुन : सरकारसँग वार्ता गर्न नेकपा विप्लव समूहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको छ । विप्लवले मंगलबार एक विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउने सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् ।

मंगलबार नै विप्लव पक्षसँग वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि टोली घोषणा गरेको हो । चन्द नेकपाका एक नेताका अनुसार वार्ताका लागि जेलमा रहेका नेता – कार्यकर्ता रिहा र ह’तियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको छ ।

त्यस्तै सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने छ । तत्कालै वार्ता टोलीको बैठक बसेर सरकारसँगको वार्ताका लागि एजेण्डा तय गरिने ती नेताले बताए । सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

(आज) मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए । केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।

प्रतिक्रिया