justnep single

विश्‍वकै प्रभावशाली सपना

admin

काठमाडौं, मंसिर १० : बेलायती प्रसारण संस्था (बीबीसी) ले मंगलबार विश्वभरका प्रेरणादायी र प्रभावशाली सय महिलाको सूची सार्वजनिक गरेको खबर म्याग्दीको मंगला गाउँपालिका–४ बुकेनीकी १९ वर्षीया सपना रोकालाई थाहै थिएन ।

मंगलबार ११ बजेतिर उनलाई फोन गरेर एक जनाले बधाई छ है भन्दै सुनाइदिए, ‘तिमी त बीबीसीको प्रभावशाली महिलाको सय सूचीमा परेकी छौ नि !’ बधाईको पहिलो खबर सुन्दा सपना सुतिरहेकी थिइन् ।

किनकि अघिल्लो राति उनी गाउँदेखि झन्डै दुई घण्टाको पैदल दूरीमा पर्ने घापुङ गाउँका २४ विपन्न परिवारलाई दाल, चामल, नुन, तेल बाँड्न पुगेकी थिइन् । राति उनी घर फर्कंदा ११ बज्नै आँटेको थियो । सपनाले भनिन्, ‘खाना खाईवरी सुत्दा १ बजिसकेको थियो । त्यसैले म अबेरसम्मै सुतें तर खुसीले भरिएको पहिलो फोन कलले ब्युँझेपछि त फोन उठाएको उठायै भाकी छु ।’

बीबीसीको यो सूचीमा केही दिनअघि मात्रै १९ वर्षको खुड्किलो टेकेकी सपनासहित फिनल्यान्डकी प्रधानमन्त्री साना मरिन, कोरोना भाइरससँग लड्न भ्याक्सिन बनाइरहेको अक्सफोर्ड विश्वविद्यालयको एक समूहको नेतृत्व सम्हालिरहेकी बेलायती सारा गिल्बर्टदेखि यूएईकी राज्यमन्त्री सराह खल अमिरीसम्म समेटिएका छन् ।

बेवारिस शवहरूको व्यवस्थापनमा काम गर्ने संस्था बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन संस्थामा आबद्ध रहेर दुई वर्षयता काम गरिरहेकी सपनाले पछिल्लो डेढ वर्षमै एक सयभन्दा धेरै बेवारिस शवको व्यवस्थापन गरिसकेकी छन् ।

दसैंअघि म्याग्दीस्थित गाउँ पुगेकी उनी दसैं मनाएर चितवनस्थित केन्द्रको शाखामा रहेर केही दिन काम गरी तिहार मान्न गाउँ फर्केकी थिइन् । बेवारिस शव व्यवस्थापनको कामलाई निरन्तरता दिन काठमाडौं आउने तयारीमा रहेकी उनी यता नआउँदै खुसीको खबर गाउँमै पुग्यो ।

१२ कक्षा पास गरेकी सपनासँग आफ्नै दुःख र संघर्षको लम्मेतान कथा छ । यो कथामा ११ को पढाइ छाडेर परिबन्दमा परी बिहे गरेको, तीन महिनामै सम्बन्ध बिग्रिएपछि सबैबाट टाढिएको, गाउँ फर्कन नसकेर सडक बालबालिकाझैं जिन्दगी बाँचेकोसम्मका अनुभूति थिग्रिएका छन् ।

चरम निराशा र सहाराको अभावमा आफैंलाई सम्हाल्न नसक्ने बनेकी उनी सडक जिन्दगीबाट फर्केर गाउँ पुगिन् तर उनको मन त्यहाँ पनि अडिएन । बाबुआमाकै सहारामा पोखरा फर्केर छुटेको पढाइ सम्हालिन् ।

१२ पास गरेपछि काठमाडौं आएका बेला उनको भेट पोखरा पढ्दाकी साथीका बाबु ललितपुर बस्ने विनयजंग बस्नेतसँग भयो । सामाजिक काममा सक्रिय विनयकै संगतले उनको जिन्दगीको परिभाषा फेरियो । सपनाले भनिन्, ‘धेरैले भागी विवाह भने पनि म परिबन्दमा परेर सम्बन्धमा बाँधिएकी थिएँ । त्यसबाट बिग्रेको मेरो यात्रा विनय बाबुलाई भेटेपछि सही बाटोमा आयो ।’


बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र नामक संस्था खोलेर सामाजिक काममा सक्रिय विनयकै हात पक्रेर सपनाले सामाजिक सेवाको दुनियाँमा पाइला हालिन् । हात पक्रेर आफूलाई नयाँ जिन्दगीको बाटोमा हिँडाएकै कारण विनयलाई कर्म बाबु मान्ने सपनाले भनिन्, ‘उहाँले नै जिन्दगीको परिभाषा फेरिदिनुभयो ।’

कोरोना संक्रमणको जोखिम सुरु भएसँगै गत चैत १० गतेपछि सरकारले देशव्यापी लकडाउन सुरु गरेको पर्सिपल्टैबाट उनी विनयसँग मिलेर असहाय र भोकाहरूलाई निःशुल्क भोजन खुवाउने काममा जुटेकी थिइन् ।

एकाबिहानै उठ्ने, बाबुछोरी मिलेर खाना बनाउने, प्याक गर्ने र मोटरसाइकलमा प्याकेट बोकेर खाना बाँड्दै हिँड्ने काममा मात्रै उनी व्यस्त थिइनन्, विभिन्न अस्पताल, प्रहरी र स्थानीयबाट पाएको सूचनाका आधारमा बेवारिस शवहरूलाई घाटसम्म ल्याउने, चिता बनाउने, दागबत्ती दिने र जलाउने काममा पनि खटिरहेकी थिइन् । एक महिनाअघि कान्तिपुरसँगको कुराकानीमा विनयले औसतमा दैनिक तीन/चार सय भोकालाई सपना र आफू खटिएर खाना खुवाइरहेको सुनाएका थिए ।

बेवारिस शव व्यवस्थापनको काममा खटिँदा सपनाले दुःख र दर्दले भरिएका कैयन् पृष्ठभूमिसहितका अनुभूति बटुलेकी छन् । उनले भनिन्, ‘प्रौढ र उमेर पुगेकाहरूको शव व्यवस्थापन गर्दा त्यति मन पोल्दैन तर नवजात शिशु र भर्खरका किशोरकिशोरीको शव व्यवस्थापन गर्दा खुबै मन पोल्छ ।’

सपनाले तीन महिनाअघि त्रिवि शिक्षण अस्पतालको शवगृहमा महिनौंदेखि थन्किएका चार बेवारिस नवजात शिशुको शव एकैचोटि बुझेर दाहसंस्कार गर्दाको क्षण सम्झिइन् । भनिन्, ‘संसार नै देख्न नपाई बेकसुर मारिएका ती शिशुको दाहसंस्कार गर्दा मन साह्रै रोएको थियो । अरू बेला त म आफैंलाई सम्झाउँछु तर त्यतिबेला सकिनँ ।’

अन्तर्राष्ट्रियस्तरबाटै आफ्नो कामको कदर भएकामा सपनालाई त खुसी मिलेको छ नै, उनका जन्म–बाबु जितप्रसाद पनि बाटो बिराएकी छोरीले सही बाटो पक्रेर नाम राखिछ भनेर फुरुङ्ग छन् । सपनाले सुनाइन्, ‘बिहानैदेखि बुबा त खुसीले नाचिराख्नुभएको छ ।’

चिनेका, नचिनेका र समाजका प्रतिष्ठा आर्जन गरेका थुप्रै मान्छेले फोनबाट बधाई दिँदा उनलाई साँच्चिकै राम्रो काम गरेको रै’छु भन्ने महसुस भएको छ । उनले भनिन्, ‘कामको कदर भएजस्तो अनुभव भएको छ । झनै धेरै राम्रो काम गरेर अगाडि बढ्नुपर्छ भन्ने हौसला मिलेको छ ।’
-कान्तिपुर बाट

प्रतिक्रिया