justnep single

सन्दीप लामिछाने बिग बास खेल्न अष्ट्रेलियातर्फ

admin

काठमाडौं, ३० मंसिर : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत अष्ट्रेलिया गएका हुन् ।

लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वरेण्टीनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । बिग बास भने गएको बिहीबारदेखि नै सुरु भइसकेको छ । क्वरेण्टीनमा बस्नुपर्ने भएकाले लामिछानेले सुरवाती छ खेल गुमाउने छन् । यस पटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् ।

लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए । उनले पछिल्ला दुई याममा २० खेल खेल्दै २६ विकेट लिएका थिए । सन्दीप आबद्ध होबार्ट मंगलबार दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ । होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो ।

अहिलेसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई हप्ताअघि लामिछाने कोरोनाबाट संक्रमित भएका थिए । अहिले उनी कोरोनाबाट मुक्त भइसकेका छन् ।

प्रतिक्रिया