स्वास्थ्य मन्त्रालयको स्वर्ण युगको स्मरण

अस्मिता बेल्बासे
  • कैलाश गर्ताैला

काठमाडौं, हाल कोरोनाको प्रकोपले संसार भर निम्त्याएको यस विषम परिस्थितिको समयमा पूर्व स्वास्थ्य मन्त्री निक्ष शम्सेर जबराको केही मिडियाहरु मार्फत् सार्वजनिक भएको अन्तर्वार्ताहरु पछि प्राप्त सकारात्मक प्रतिक्रियाहरुबाट प्रभावित भएर उहाँको कार्यकाल र सक्रियताको ओझेलमा रहेका केही पक्षहरु उजागर गर्न उत्प्रेरित भएको छु । उहाँलाई बुझ्न सर्वप्रथम उहाँले मन्त्रालयमा आफ्नो परिचयको क्रममा बोल्नु भएको पहिलो वक्तव्य उजागर गर्न चाहान्छु ।

उहाँले भन्नुभएको थियो  ‘म कम्नियुष्ट होइन तर मेरो काम गर्ने शैली कम्नियुष्ट जस्तै छ । मलाई कतिपयले प्रजातान्त्रिक नभन्लान तर म पुर्ण प्रजातान्त्रिक प्रकिया अपनाई काम गर्न चाहान्छु । म राजसंस्थाको पक्षधर हुँ, तर जनताको खुशीमा नै राजाको खुशी हुन्छ भन्दै राजालाई खुशी पार्न पहिला जनतालाई खुशी पार्नु पर्छ भन्ने मेरो मान्यता हो । तपाइँहरुको कामले मन्त्रालय अघि बढे तपाइँ अघि बढ्नुहुन्छ, तपाइँहरुको कामले मन्त्रालय यथास्थितिमा रहे तपाइँ यथास्थितिमा रहनु हुन्छ, तपाइँहरुको कामले मन्त्रालय पछि पर्यो भने तपाइँहरु पछि पर्नुहुन्छ । कुनै वैचारिक आधारमा होइन तपाइँहरुकै कार्यको आधारमा तपार्इहरुको मुल्याकंन हुन्छ, निश्चिन्त रहनु होला । म न त मान्छे कमाउन आएको हुँ न त पैसा कमाउन आएको हुँ, यो उमेरमा जिम्मा पाएको छु म काम गरेर पहिचान बनाउन चाहन्छु।’

यी कुराहरु उहाँले खाली वोलीमा मात्र नभई चरितार्थ नै गर्नुभएको थियो । सर्व प्रथम मन्त्रीको कार्यकक्षमा फूल लिएर स्वागत र परिचय गर्ने प्रथाको अन्त्य गरी कर्मचारीहरुको कार्यकक्षमै आफै गएर वस्तुगत स्थिति, योजना र परिचय हासिल गर्नुभयो । यो उच्चस्तरको कर्मचारीहरुलाई मात्र नभई पियनसम्म पनि समान व्यवहार गर्नुभयो ।

उहाँले मन्त्रालयको अव्यवस्थित र फोहोर अवस्था देखेर कार्यवाहालीको दिनबाट सात दिन भित्र वन्दोवस्ती गर्न निर्देशन दिनुभयो र सात दिन भित्र विभिन्न कारण देखाई कुनै पनि कार्य नभएपछि आठौँ दिन भौतिक रुपमा आफै संग्लन भई करिव तीनलाख आफ्नै खर्च गरेर दुईसय कर्मी र कामदारहरु लगाई, दुईदिन भित्र नै मन्त्रालय व्यवस्थित र सफा गर्नुभयो ।

कुनै प्रकारको आग्रह पूर्वाग्रह नराखी आफु भन्दा अघि मन्त्रालय सम्हालेका सबै पक्षका मन्त्रीहरुसँग भेटघाट गरी उहाँहरुको अनुभवहरु र योजनाहरुका बारेमा जानकारी लिनुभएको थियो । पारदर्शीतामा कुनै किसिमको सम्झौता गर्नुहुन्न भन्ने मान्यतामा अटल हुनुहुन्थ्यो ।

पूर्वश्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको अध्यक्षतामा गठित सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका ३१ वर्षीय युवा मन्त्री निक्ष शम्शेर ज।ब।राको स्वकीय सचिवको कार्यभार सम्हाल्ने अवसर मलाइ प्राप्त भएको थियो ।

सरकारी कर्मचारीहरुको लगभग आधा कर्मचारी रहेको प्राविधिक दक्ष जनशक्तिले भारिपूर्ण मन्त्रालयमा काम गर्नुपर्ने भएकोले मनमा अन्योल र दुविधा रहनु त स्वाभाविक नै हो । तत्कालिन समय विशेष अवस्था भएको हुनाले स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु पनि हतास र अन्योलमा अवश्य पनि थिए भन्दा दुईमत नहोला । तर एक सवल नेतृत्व र अभिभावकीय  भूमिकाले हाम्रो आत्मवल र हौसला बढ्छ भन्ने कुरा हामी सबैले प्रत्यक्ष रुपमा महसुस गरेका छौँ ।

उहाँ दैनिक रुपमा बिहान ९ देखि ९:३० बजे मन्त्रालय पुगिसक्नु हुन्थ्यो र बेलुकी ७ देखि ७:३०  बजेसम्म मन्त्रालयमै रही मन्त्रालयको काम बाहेक अन्य कुनै पनि काम गर्नु हुदैँन थियो । हरेक महिनाको अन्तिम हप्ता सबै विभाग र निकायहरुको मासिक समिक्षा र आगामी महिनाको योजनामा नियमित छलफल गर्नुहुन्थ्यो । छलफल र योजनामा सिमित रहनुभन्दा त्यसको कार्यान्वयन र व्यावहारिकतातर्फ केन्द्रित हुनुहुन्थ्यो ।

कुनैपनि विषयमा फेरवदल र अन्य कुनै कामकारवाही गर्दा सरोकार वाला र सम्बन्धित पक्षको सुझाव संकलन गरेर मात्र काम गर्नुहुन्थ्यो । यसको ज्वलन्त उदारहण स्वास्थ्य ऐनको परिमार्जन तर्फ अविलम्वन गरिएको प्रक्रियाबाट पनि पुष्टि हुन्छ ।

‘हाम्रो मान्छे भन्दा पनि राम्रो मान्छे’ भन्ने भनाई अनुरुप कुनै पनि सैदान्तिक आधारमा सरुवा र वढुवालाई निरुत्साहित गर्नु भएको थियो । कुनै पनि संवेदनशील विषयमा आफु सदासर्वदा प्रत्यक्ष उपस्थित हुनुहुन्थ्यो र आफ्नो सहजता भन्दा वरिपरिको व्यक्तिहरुको सहजतामा बढी केन्द्रित हुनुहुन्थ्यो । यतिसम्म की अत्यन्त आपतकालीन अवस्थामा बाहेक ट्राफिक नियमको पूर्ण पालना गरी लाइनमा बस्नु हुन्थ्यो ।

उहाँले कर्मचारीहरुलाई भन्नु हुन्थ्यो, ‘म उमेरमा तपाइँहरु अधिकांशभन्दा सानो भएपनि आज म एक अभिभावकको भूमिकामा रहेको हुँदा मन्त्रालयको परिधि भित्र तपाईंहरुलाई सचेत गराउँला, कराउँला तर मन्त्रालयको परिधि बाहिर तपाईंहरुप्रति उठेका हरेक औंलाहरुको म सामना गर्ने छु, यो मेरो नैतिक जिम्मेवारी हो ।’

सोही अनुरुप उहाँले चरितार्थ गर्नु भयो र समय समय केही प्रभुत्ववाल पत्र-पत्रिकाले मन्त्रीले कर्मचारीको वचावट गर्यो भन्ने आग्रह र पूर्वाग्रहयुक्त लेख पनि प्रकाशित गरेका थिए ।

त्यसरी समयमा देशमा जापानीज इन्सेप्लाइटिश रोगको महामारी फैलिँयो । अहिले कोरोना भाइरस (कोभिड-१९) जस्तै विश्व नै जापानिज इन्सेप्लाईटिशको महामारीबाट त्रास थियो । अहिले भन्दा विश्वभरको त्रास कम भएपनि कोरोना भन्दा धेरै गुणा बढी खतरनाका इन्सेप्लाईटिस थियो । कोरोनाबाट ८० देखि ८५ प्रतिशत व्यक्ति अस्पतालसमेत नगइ ठिक हुन्छन् ।

बाँकी पनि मृत्यु हुने दर २ देखि ३ प्रतिशत मात्र छ । तर जापानिज इन्सेप्लाईटिस लागिसकेपछि बढी सम्भावना मृत्युकै थियो यदि बाच्यो भने पनि मानिस अपांग हुने अवस्था थियो । यस्तो डरलाग्दो रोगको महामारीबाट जनतालाई जोगाउन औषधी र भ्याक्सिन छिटो गतिमा ल्याउनु राष्ट्रिय जिम्मेवारी र मानवीय बाध्यता दुबै थियो ।

सरकारी प्रकृयाबाट औषधी ल्याउन ढिलो हुने भएपछि जनता बचाउनको लागि आफ्नै पैसा खर्च गरी विदेशबाट जापानीज इन्सेप्लाइटिश विरुद्धको भ्याक्सिन मगाउनु भएको कुरा त सार्वजनिक भईसकेको छ। तर त्यस बाहेक धेरै विधाहरुमा आफ्नै खर्चले सहयोग गर्नु भएको पनि सम्झिरहेको छु । मन्त्रालयमा औषधी उपचारको सहयोगको लागि आएका कयौँ व्यक्तिहरुलाई मन्त्रालयबाट सहयोग हुन नसक्दा निजिरुपमा आसिक र पूर्ण सहयोग गर्नुभएको थियो ।

धेरै कर्मचारीहरुको व्यक्तिगत समस्याहरुमा पनि आफै उपस्थित हुने र निजी तवरबाट सहयोग गर्नुभएको थियो। वेल्डीङ्ग मजदुरहरुलाई राज्यले टिटानसको भ्याक्सिन उपलब्ध गराउन नसक्दा आफ्नो कर्तव्य सम्झी मजदुरहरुलाई निजीरुपबाटै भ्याक्सिन  उपलब्ध गराउनुभएको थियो । अत्यन्त आवश्यक कर्मचारीहरुलाई देशका विभिन्न स्थानमा वजेट नभएको अवस्थामा समेत आफ्नै खर्चबाट भ्रमण गराउनु भएको थियो। आफुसँग राज्यबाट खटाईएका सम्पूर्ण सुरक्षाकर्मीहरुको खानपान लगायतका खर्चहरु आफ्नो व्यक्तिगत खर्चबाट नै गर्नुहुन्थ्यो ।

आफ्नो कार्यकालभरि परिवारको सबै सदस्यहरुलाई मन्त्रालय प्रवेशमा निषेध गर्नुभएको थियो र कुनै पनि मन्त्रालयको कामहरुमा दखल दिन बन्देज गर्नु भएको थियो भने सरकारी कामबाहेक कुनै पनि सेवा र सुविधाहरु प्रयोग गर्न उहाँले चाहानुभएन ।

सुधारात्मक कार्य सम्बन्धमा, अत्यन्त आवश्यक वाहेक पुजीगत लगानी भन्दा प्रत्यक्ष जनसेवामा केन्द्रीकृत गराउन अग्रसर हुनुहुन्थ्यो र पूँजीगत लगानी Public Private Partnership (PPP)    प्रकिया अविलम्वन गरि राज्यको लगानीमा सहयोग पुर्‍याउन प्रोत्साहित गर्नुभएको थियो । उहाँले पाँचतारे होटेलमा आयोजना गरिने कार्यक्रमहरुमा रोक लगाई सरकारी स्थलहरुमा कार्यक्रम गर्ने प्रक्रिया सुरु गर्नुभएको थियो ।

द्वेधचरित्रको अन्त्य गर्न स्वास्थ्य मन्त्रालयको कार्यक्रमहरुमा चुरोट र मदिराको प्रयोगमा रोक लगाई सो सम्बन्धित कुनै पनि रकम स्वास्थ्य मन्त्रालयले भुक्तानी नगर्ने प्रक्रिया उहाँबाट नै आरम्भ भएको हो । उहाँले तीन पटक भ्रष्टाचार विरुद्धको सूचना प्रवाह गर्नुभएको थियो । केहि दातृ निकायहरुको नीतिगत रुपमा वार्षिक आपूर्तिबाट मन्त्रीहरुलाई दिदैं आइरहेको कमिशन लिन अस्वीकार गर्नुभएको थियो । औपचारिक कार्यक्रममा बाहेक निजी व्यापारीहरुसँगको निजी भेटघाट र सम्पर्क पनि निशेध गर्नुभएको थियो ।

कर्मचारीहरुको हकहितका लागि सदैव खडा हुनुहुन्थ्यो भने व्यवसाहिकताको कदर गर्ने प्रचलन स्थापित गर्न र स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई नै सचिवको रुपमा ल्याउन प्रस्ताव गर्नुभएको थियो। सेवाको क्षेत्रमा सहजता र सरलताका लागि अभिलेखहरु र सूचनाहरुको डिजिटल रेकर्ड राख्ने प्रबिधि विकास गर्न प्रयत्नरत रहुनुभयो।

अत्यावश्यक तीन कार्यक्रम बाहेक दर्जनौं विदेश भ्रमणका कार्यक्रमहरु रद्द गरि त्यसको सट्टा आफ्नै देशको विभिन्न स्थानको भ्रमण र निरीक्षण गर्नुभएको थियो । डाक्टरहरुको पेशागत सुरक्षाका लागि उहाँले डाक्टर प्रोटेक्सन एक्ट ल्याउनमा पहल गर्नु भएको थियो । स्वास्थ्य सेवामा जनताको सहज पहुँच पुर्‍याउन स्वास्थ्य बिमा लागू गर्न सकिने वहुआयामिक विधाहरुको अध्ययनमा तल्लिन हुनुहुन्थ्यो ।

वैदेशिक दातृ निकायहरुको दबावमा राज्य सञ्चालन गर्नु भन्दा आफ्नो देशको वास्तविकता र व्यावाहारिक आवश्यकता अनुरुप दातृ निकायहरुलाई चल्न उत्प्रेरित गर्नुभयो । पहिला त दातृ निकायहरुले बुझ्न चाहना नराखी अप्रत्यक्ष असहयोग गर्न प्रयास गरे पनि पछि भने सुमधुर सम्बन्ध कायम भएको थियो र उहाँले प्रंशसासमेत उल्लेखनीय तवरबाट पाउनुभएको थियो ।

जिल्ला अस्पताल बनाउने क्रममा रहेको पाटन अस्पतालाई अस्पतालको प्राविधिकहरु र कर्मचारीहरुको मनोभावना र आकांक्षाको कदर गर्दै उहाँहरुलाई व्यवस्थापनको जिम्मेवारी प्रदान गरि अध्ययन प्रतिष्ठान बनाउने तर्फ सहयोग गर्नुभएको थियो भने अन्य धेरै प्रक्रियागत समस्याहरुबाट ग्रसित अस्पतालहरुलाई सहजता प्रदान गर्नुभएको थियो ।

निजी र सरकारी सेवाहरुलाई प्रतिस्पर्धा भन्दापनि परिपूरकको भूमिकामा विकास गर्न तिर सक्रीय भूमिका निर्वाह गर्नुभएको थियो । प्राकृतिक चिकित्सा विधिहरुलाई ओझेलमा पार्नुभन्दा समय सापेक्ष दृष्टिकोणबाट वैकल्पिक चिकित्सा प्रणालीको रुपमा परिचित बनाउन क्रियाशील हुनुभयो ।

आज मृगौला प्रत्यारोपणको चर्चा भैरहेको हुँदा मैले स्मरण गर्ने पर्छ, उहाँको कार्यकाल भन्दा अगाडी मृगौला प्रत्यारोपण असफल भएर रोकिएको थियो र उहाँले सोही विषयमा पुनर्विचार गर्ने वातावरण सृजना गर्नु भएको थियो ।

किर्तिपुरमा मृगौलाको विशेष अस्पताल स्थापना गर्ने योजना गर्नुभएको हो । यी केहि विषयहरु हुन् जो मैले यस लेखमा समेट्न सके तथापी विस्तृत रुपमा लेख्ने भए पुस्तकको रुपमानै लेख सक्ने प्रशस्त प्रेरणादायक विषयहरु छन् ।

अन्तमा आजको संवेदनशील आवश्यकताको सन्दर्भमा काम कसरी गर्नु पर्ने अनुभव मैले उजागर गर्नै पर्छ र प्रसंग २०६२र६३ ‘आन्दोलन’ को समयमा अपनाइएका केही स्मरणीय कार्य विधिहरु । सर्वप्रथम उहाँले त्यस्तो संवेदनशील अबस्थामा अन्य विषयहरुलाई  गौण राखी जनसरोकारमा पक्ष बिपक्ष भन्दा पनि सेवाको सहजतामा केन्द्रित भई सबैको लागि स्वास्थ्य सेवालाई सुचारु राख्न सबै सम्बन्धित निकायहरुलाई निदेर्शित गर्नुभएको थियो ।

सोहि क्रममा निजी र सरकारी अस्पतालहरुको नियमित बैठक बोलाई आधारभूत आवश्यकताको अभिलेखको माग गरी इलाकाहरु कायम गरी हरेक इलाकाका अस्पतालहरु एक अर्काको परिपुरक वनी आवश्यक सामाग्रीहरुको आदान प्रदान गर्नसक्ने गरी योजना तयार गर्नुभएको थियो । स्वास्थ्य मन्त्रालयको निकायहरु मात्र नभई सबै स्वास्थ्य सेवा प्रदायकहरुको सहजकर्ताको भूमिका मन्त्रालयले निर्वाह गर्ने निर्णय गरिएको थियो ।

कुनै पनि प्रक्रियागत बाधा अड्चन परि आएको समयमा आफू स्वयम् जिम्मेवारी वहन गर्ने गरि आकस्मिक रुपमा ति प्रक्रियाहरुलाई निलम्बित गर्नु भएको थियो। जसको लागि आपतकालीन सहजता टोली र सम्पर्कका लागि फोकल प्वाइन्टहरुको पनि प्रस्ताव गर्नुभएको थियो ।
आफू स्वयमनै अस्पतालहरुमा पुगी निरीक्षण गर्नुहुन्थ्यो भने सेवा प्रदायकहरुको सुरक्षा र सहजतालाई प्राथमिक्ता प्रदान गर्नुभएको थियो ।

यति सम्मकी एकपटक अन्य कर्मचारीहरुको आवत जावतको लागि उपलव्ध गाडीहरुले मन्त्रालयको पियुनहरुलाई सेवा दिन नसक्दा उहाँहरु अलपत्र परेपछि आफैले गाडी हाँकी उहाँहरुलाई आ(आफ्नो  गन्तव्यसम्म पुर्याउनु भएको थियो । यसैबाट प्रस्ट गर्नसकिन्छ कि उहाँ सतही मात्र नभई  सर्वाङ्गीण सक्रियताको अभ्यास गर्नुहुन्थ्यो ।

यहाँ राम्रोलाई भन्दा हाम्रोलाई च्याप्ने चलन हुँदासम्म यस्ता प्रेरणादायिक व्यक्तित्वहरु आग्रह र पूर्वाग्रहका कारणले ओझेलमा परिरहेको हुन्छन् । मलाई गर्व छ की म बाँचिरहेको भन्दा जीवन्त मन्त्रालयको अनुभव गर्न पाँए र यस्तो मन्त्रीसँग काम गर्ने अवसर पाँए जो आफु बलेर पनि अरुलाई उज्यालो प्रदान गर्न रुचाउँनु हुन्थ्यो ।

आफ्नोलाई तारिफ सबैले गर्छन भन्नु स्वाभाविक हो तर मैले प्रस्तुत गरेका यी सबै विषयहरु स्वास्थ्य मन्त्रालयबाट तथ्यसहित पुष्टि गर्न सकिन्छ। (कैलाश गर्तौला पूर्वस्वास्थ्यमन्त्री निक्षसमशेर ज.ब.रा का तात्कालिन स्वकीय सचिव हुन् ।)

प्रतिक्रिया