अक्सिजन छैन, कोरोनाका गम्भीर बिरामीको पनि भर्ना लिन सकिन्नँ : मडिसिटी अस्पताल

admin

काठमाडौं, २८ बैशाख : नेपाल मडिसिटी अस्पतालले अक्सिजन अभाव भएको भन्दै कोरोना संक्रमित बिरामीको भर्ना नलिने घोषणा गरेको छ । सरकारले तोकेको अक्सिजन सिलिन्डरको कोटाले माग धान्न नसक्ने भन्दै मेडिसिटीले भर्ना लिन नसकिने जानकारी दिएको छ ।

दैनिक चारदेखि पाँच सय सिलिन्डर अक्सिजन आवश्यक पर्नेमा सरकारले एक सय थानको मात्रै कोटा दिएकाले कुनै पनि हालतमा बिरामीको उपचार गर्न नसकिने अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

अहिले अस्पतालमा एक सय २० जना कोरोनाका बिरामीको उपचार भइरहेकोमा ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभरका अस्पतालमध्ये सबैभन्दा धेरै कोरोनाका बिरामी रहेको अस्पताललाई जम्मा एक सय सिलिन्डर अक्सिजनले नपुग्ने मेडिसिटीको भनाइ छ ।

अब अस्पतालमा नयाँ भर्ना लिन असमर्थ रहेको र अहिले उपचार गराइरहेका बिरामीलाई पनि अन्यत्रै सार्नुपर्ने अवस्था आउन सक्ने मेडिसिटीले चेतावनी दिएको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सोमबारको बैठकले अस्पतालहरूलाई अक्सिजनको कोटा निर्धारण गरेको थियो ।

प्रतिक्रिया