अझै सार्वजनिक भएन चुच्चे नक्सा अनुसारको क्षेत्रफल

admin

काठमाडौं, ७ माघ : २०७७ जेठमा सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्‍यो तर नयाँ नक्साअनुसार मापन गरिएको नेपालको आधिकारिक क्षेत्रफल भने अझै सार्वज्निक गरिएको छैन ।

नयाँ नक्सा जारी भएलगत्तै २०७७ असारमा भूमि व्यवस्था मन्त्रालयले नयाँ नक्सा अनुसार नेपालको आधिकारिक क्षेत्रफल मापन गर्न नापी विभागलाई लिखित निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनपछि विभागले चुच्चे नक्सा अनुसार नेपालको क्षेत्रफल मापन गरेर २०७७ असोजमा मन्त्रालयमा रिपोर्ट बुझाएको थियो ।

उक्त रिपोर्ट गोप्य राखिएको छ । विभाग स्रोतका अनुसार क्षेत्रफल मापन गर्न विभागका प्राविधिकले जिआइएस (जोग्राफिक इन्फरमेसन सिस्टम) बाट चुच्चे नक्सा अनुसारको नेपालको क्षेत्रफल मापन गरेका थिए । जिआइएस सिस्टमबाट मापन गर्दा फिल्डमा नगएर पनि वास्तविक क्षेत्रफल मापन गर्न सकिने विभागका एक उच्च कर्मचारी बताउँछन् ।

तत्कालीन भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको पनि यसमा विशेष चासो रहेको विभागका ती कर्मचारी बताउँछन् । विभागले मन्त्रालयमा रिपोर्ट बुझाएको १ वर्ष पूरा भइसकेको छ तर मन्त्रालयले यसलाई सार्वजनिक गर्न पहल गरेको छैन । – नागरिक दैनिक

प्रतिक्रिया