अतिरञ्जित ढङ्गले समाचार आयो : प्रदेश सरकार

राष्ट्रिय समाचार समिति

धनगढी, १६ साउन: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले पूँजीगत खर्च बढाउन वर्षको अन्तिममा आएर मन्त्रीले आफ्ना लागि गाडी खरीद गरेको भन्ने समाचार असत्य रहेको बताउनुभएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री शाहले मन्त्रालयमा विभिन्न सवारीसाधन खरीद गर्नुपर्ने आवश्यकता देखिएकाले जनताको सेवा र सुरक्षाका लागि प्रचलित ऐन र मापदण्डभित्र रहेर प्रदेश सरकारले सवारीसाधन खरीद गरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “पूँजीगत खर्च बढाउनका लागि मन्त्रीले आफ्ना लागि गाडी खरीद गरेको भनेर अतिरञ्जित र अनर्गल ढङ्गले सञ्चारमाध्यममा आएको समाचार असत्य हो ।”प्रदेश सरकारले १६ थान अत्याधुनिक एम्बुलेन्स, प्रदेश प्रहरीका लागि नौ थान जीप, विभिन्न मन्त्रालय र कार्यालयका लागि ३३ मोटरसाइकलसहित जम्मा ५३ थान गाडी खरीद गरेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकार र मातहतका मन्त्रालय, निकायको गत आर्थिक वर्ष २०७५÷७६ मा पूँजीगत र चालू खर्चको प्रगति ५९ दशमलव ५५ प्रतिशत भएको पनि उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया