अध्यक्षद्वय साक्षीसहित बसेको छलफल पनि निष्कर्षविहीन, ‘अर्ली महाधिवेशन’को प्रस्तावबाट पछि हटे ओली

admin

काठमाडौं, १८ साउन : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केही दिनको यताको संवादहिनता तोडिँदै पुनः संवाद भएको छ । पार्टीका बहुमत सदस्यहरुले ओलीको राजीनामा मागेपछि उत्कर्षमा पुगेको नेकपाभित्रको विवादले गत मंगलबार यता दुई अध्यक्षबीच नै संवाद हुन सकेको थिएन ।

अध्यक्षद्वय ओली र दाहालसहितका चार जना नेताको आइतबार भएको छलफल निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी भएका थिए । झण्डै तीन घण्टाको छलफलमा अध्यक्षद्वयले आफ्नो अडान कायमै राखेपछि कुनै निष्कर्ष निस्कन नसकेको हो ।

केही दिनअघि बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले एकलौटी रुपमा स्थगित गरेको केही समयमै २९ जना स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका थिए । बहुमत प्राप्त स्थायी कमिटी बैठकले एकलौटी रूपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बैठक रोक्नु विधान विपरीत र अनुचित भएको निर्णय गरेको थियो ।

बैठकले अध्यक्ष दहाललाई ओलीसँग सहमतिमा बैठक बोलाउने जिम्मा दिए पनि द्वयअध्यक्षबीच यो अवधिमा कुराकानी भएको थिएन । स्रोतका अनुसार आइतबारको तीन नेताबीचको संवादमा पनि नेताहरुले पुरानै विषयबाट कुराकानी सुरुवात गरेका थिए । त्यसक्रममा नेताहरुबीच कुनै ठोस सहमति नभएपनि संवादलाई निरन्तरता दिन भने उनीहरु सहमत भएका छन् ।

‘संवादको सुरुवात भएको छ । यसलाई निरन्तरता दिँदै उठेका विषयहरुमा थप छलफल गर्ने वातावरण बनेको छ’, अध्यक्ष दाहालले ओलीसँगको संवादपछि आफू निकटका नेताहरुसँग ब्रिफिङ गरेका थिए । बुझिएअनुसार यसअघि ओलीले अघि सारेको ‘अर्ली महाधिवेशन’को प्रस्तावबाट भने उनी पछि हट्ने संकेत देखाएका छन् ।

‘मेरो गोरुको बाह्रै टक्का भनेर सहमति हुँदैन । त्यसैले विधि र प्रकृयाबाटै म छोड्छु । त्यसका लागि अर्ली महाधिवेशन तपाईंहरुलाई स्वीकार्य छैन भने केन्द्रीय समितिले तोकेकै मिति (चैतमा) मा महाधिवेशन गरौँ’,आइतबारको संवादका क्रममा ओलीले भनेका थिए ।

बैठकमा ओलीले अर्ली महाधिवेशन मान्य नभए आफू तोकिएकै मितिमा महाधिवेशन गर्न तयार भएको भन्दै त्यसका लागि दाहाललाई सहमतिमा आउन आग्रह गरेको स्रोतको भनाइ छ । जवाफमा दाहालले ओलीको उक्त प्रस्तावलाई सकारात्मक रुपमा लिँदै निकासका लागि पार्टी बैठकलाई निरन्तरता दिनुपर्ने, विधि र पद्धतिको पालना हुनुपर्ने र उठेका विषयहरुमा बैठकमै छलफल गर्नुपर्ने बताएका थिए ।

गत मंगलबार अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थायी समिति बैठक स्थगित गरेपछि अर्का अध्यक्ष दाहाल पक्षको बालुवाटारमै बसेको बैठकले संवाद गरेर निकास खोज्ने जिम्मा दाहाललाई दिएको थियो । पूर्वनिर्धारित साउन १३ गतेलाई बोलाइएको स्थायी समिति बैठक ओली एक्लैले स्थगित गरेपछि पार्टी विवाद थप चर्कन पुगेको थियो ।

ओलीले साउन १३ गतेको बैठक एकतर्फी स्थगित गरेपनि दाहाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपाली पक्ष बालुवाटारमै भेला भएर ओलीलाई बैठक नरोक्न र बैठकमा बस्न आग्रह गरेका थिए । तर, ओलीले बैठकमा सहभागी नहुने जवाफ दिएपछि २९ स्थायी समिति सदस्यबीच बैठक बसेको थियो ।

त्यसैदिन उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सार्दै ओलीले पाँचै वर्ष सरकार चलाउने र प्रचण्डले एकता महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्नुपर्ने विकल्प अघि सारेका थिए । त्यसको दुई दिनपछि प्रचण्डलाई भेट्न खुमलटार पुगेका महासचिव विष्णु पौडेललाई दाहालले अध्यक्ष केपी शर्मा ओलीलाई निकास निस्कने गरी छलफलमा बस्न प्रस्ताव गरेका थिए ।

साउन १३ गतेलाई तय भएको स्थायी कमिटी बैठक ओलीले एकतर्फी स्थगित गरेपछि दाहालले बहुमत सदस्य सहित बैठक राखेपछि ओली थप चिढिन पुगेका थिए । उक्त बैठकले ओलीले एकतर्फी बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्षसमेत निकालेको थियो ।

प्रतिक्रिया