अनुशासित बजेट ल्याउने तयारीमा अर्थमन्त्री पौडेल

admin

काठमाडौं, ३१ चैत : अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणका आधारभुत सिद्धान्तहरुलाई आत्मसाथ गरेर अनुशासित बजेट ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको अर्थ समिति बैठकमा मन्त्री पौडेलले आगामी आर्थिक वर्षमा अनुशासित बजेट निर्माण गरिने बताउनुभएको हो ।

मन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेको चुनौति र त्यसको सामनाका लागि बजेटले सर्वोच्च प्राथमिकतामा राख्ने जानकारी गराउनुभयो । कोभिड संक्रमण नियन्त्रण, उपचार र खोपको प्रबन्ध गर्ने, कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरउत्थान गर्ने कुरामा चालु आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने प्रयास हुने उहाँको भनाइ थियो ।

मन्त्री पौडेलले बजेट निर्माणमा सम्बन्धित मन्त्रालयहरु नै सम्पूर्ण रुपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने पनि स्पष्ट पार्नुभयो ।

आर्थिक वर्षको अन्त्यसम्म पनि कार्यान्वयन नहुने अवस्थाका आयोजनाका लागि बजेट विनियोजन गर्ने भन्दा पनि कार्यान्वयनमा गइसकेका र जाने चरणमा रहेका आयोजनालाई आवश्यक बजेट विनियोजन गर्ने मन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया