अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च : परराष्ट्रमन्त्री ज्ञवाली

admin

काठमाडौँ, २४ असोज: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शान्ति प्रक्रियाले पूर्णता पाएसँगै अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च बनेको बताउनुभएको छ । गुल्मेली समाजले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संयुक्त राष्ट्रसङ्घको हालै सम्पन्न महासभाका सभापतिले समापन मन्तव्यका क्रममा नेपालको प्रधानमन्त्रीलाई सम्बोधन गरेको स्मरण गर्दै नेपाल अन्तर्राष्ट्रियरुपमै उद्यृत गर्न लायक देश बनेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री ज्ञवालीले शान्ति प्रक्रिया पूरा भएसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रोफाइल बढेको उल्लेख गर्दै नेपालले शान्तिपूर्ण ढङ्गबाट र मौलिक ढङ्गले ठूलाठूला परिवर्तन हासिल गरेको कुरा अन्तर्राष्ट्रियस्तरमा बाँड्ने मौका पाएकामा खुशी व्यक्त गर्नुभयो । अफगानिस्तान र वर्माको टोली नेपालको शान्ति प्रक्रियाबाट सिक्नका लागि भनेर डेलिगेसन आएको स्मरण गर्दै उहाँले मङ्गलबार मात्रै सुडानबाट आएको टोलीले आफ्नो शान्तिवार्ताको प्रायोजन गरिदिन, यदि नभए हेरिदिन आग्रह गरेकोसमेत बताउनुभयो । चाडबाडले समाजलाई एकतामा बाँध्ने भएकाले चाडपर्व संरक्षण गर्नुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिनुभयो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकको समृद्धिका लागि सबै मिलेर कार्य गर्नुपर्ने बताउँदै समृद्धिका लागि चुनावमा जस्तो पक्ष र प्रतिपक्षमा नबसी दलीय स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभयो । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले आफैँमा स्वर्ग जस्तो नेपाल छाडेर युरोप र अरबको भूमिमा युवाले पसिना बगाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिदैं मुलुकमा अहिले दुई तिहाइको सरकार भएकाले देशको विकास र समृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो । गुल्मेली समाजका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष भीमलाल पौडेलले स्वागत गर्नुभयो ।
-रासस

प्रतिक्रिया