अन्तर्राष्ट्रिय विकास साझेदारलाई लगानी गर्न मुख्यमन्त्री शाहिको आग्रह

admin

खगेन्द्र हमाल
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय विकास साझेदारलाई लगानी गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा सोमबार सम्पन्न कर्णाली प्रदेश सरकार र नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदारसँगको बैठकमा मुख्यमन्त्री शाहीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संयुक्त लगानीबाट मात्र कर्णालीको अपेक्षित विकास हुने बताए ।

बैठकमा मुख्यमन्त्री शाहिले भने भौतिक विकास, गरिबीको अन्त्य र सुशासनको प्रत्याभूति नै सबै नागरिकको चाहना हो।यसलाई पूरा गर्न प्रदेश सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्यको तयारी गरिरहेको छ।यहाँको गरिबी अन्त्य, उत्पादनमा वृद्धि, पर्यटकीय क्षेत्रको विकास, ऊर्जा तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा एकीकृतरुपमा लगानी गर्न अन्तर्राष्ट्रिय विकास साझेदार संस्थालाई आग्रह गरे ।

प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा विकास साझेदार संस्थाले लगानी गर्नुपर्नेमा विशेष जोड दिँदै उनले भने अन्तर्राष्ट्रिय विकास साझेदार संस्थासँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको धारणा व्यक्त गरे ।हामी संघीय व्यवस्था कार्यान्वयनको प्रारम्भिक चरणमा छौँ । कानून निर्माण, प्रशासनिक संरचनाको स्थापनालगायतका व्यवस्थापकीय काम नटुंगिदा जनअपेक्षाअनुरुप काम हुन सकेको छैन ।’

संवैधानिक व्यवस्थाबमोजिम कानूनीरुपमा तीनवटै सरकारको कार्यक्षेत्र निर्धारण, प्राकृतिक स्रोत साधनको बाँडफाँट प्रशासनिक संरचनाको स्थापनाजस्ता आधारभूत काम पूरा हुन नसक्नु दुखद् भएको जनाउँदै मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली, सुखी कर्णालीबासीको सोचसहित प्रदेश योजना आयोगबाट कर्णाली प्रदेशको प्रोफाइल निर्माण, पञ्चवर्षीय आवधिक योजनाको मस्यौदा तयारी, आयोजना बैंकको तयारीजस्ता काम सम्पन्न भएको बताए ।

बैठकमा बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी)की नेपाल प्रमुख लिजा ह्याननले अन्तर्राष्ट्रिय साझेदार संस्थाले एकीकृतरुपमा प्रदेश तथा स्थानीय सरकार सहयोग (पिएलजिएसपी) कार्यक्रम सञ्चालनका लागि संघीय सरकारसँग सम्झौता गरिसकेको जानकारी दिँदै ठूला परियोजना सञ्चालनका लागि संघीय सरकारसँग सहकार्य भइरहेको बताए ।

प्रतिक्रिया