अपहरित बालिकाको उद्धार, अपहरणकारी पक्राउ

राष्ट्रिय समाचार समिति

बुटवल, २० भदौ: भारतीय नागरिकबाट अपहरणमा परेकी ५ वर्षीय बालिकाको रुपन्देही प्रहरीले आज सकुशल उद्धार गरेको छ । प्रहरीले बालिका अपहरण गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ ।



रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा मासु पसल सञ्चालन गर्दै आएकाबाट ५ वर्षीया रुपन्देहीको रोहीणी–२ स्थित बैकुण्ठपुर घर भई भैरहवामा मासु पसल सञ्चालन गर्दै आएका असफाक अहमद खान की ५ वर्षीया छोरी घरको आगनमा खेल्दै गरेको अवस्थामा आज बिहान अपहरणमा परेकी थिइन् ।

प्रहरीले अपहरित बालिकाको रोहीणी गाउपालिका–२ रोहिणी पुल नजिकको जङ्गलबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

अपहरणकारीले बालिकालाई जङ्गलमा मुख थुनी नियन्त्रणमा राखेको अवस्थामा प्रहरीले बालिकाको उद्धारसँगै अपहरणकारी जिल्ला महराजगञ्ज थाना निच्लल ग्राम मिठौराबजार भारत घर भई हाल जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–७ कोटिहवामा डेरा गरी बस्दै आएका पेन्टरको काम गर्ने २३ वर्षीय मनिष निगमलाई नियन्त्रण गरेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका निगमलाई थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया