अपांगता भएकी युवती गर्भवती, बलात्कार भएको आशंका

admin

झापा : झापामा १६ वर्षदेखि ओछ्यान परेकी बहुअपाङ्गता भएकी युवती यौनशोषणमा परेकी छिन्। बोल्न, सुन्न, हिँड्न, खान र शौच बस्नसमेत नसक्ने अवस्थाकी युवती यौनशोषणमा परेको प्रहरी र हाम्रो बाह्रदशी अपाङ्गता अभियानले जनाएको छ। म अभियानका अध्यक्ष सन्तोष सुवेदी र सचिव ओमप्रसाद संग्रौलाले बहुअपाङ्गता भएकी अविवाहित युवती यौनशोषणमा परेर गर्भवती भएको आशंका गरे।

‘जोसुकै होस्, खोजतलास गरेर तत्काल कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गर्दछौं,’ उनीहरूले भने। युवतीका बडाबा-बडिआमा झापाको सुरुङ्गामा बस्छन्। भाइको घरमा जाँदा युवतीका बुवाले भाउजूलाई छोरीको जीउमा अस्वाभाविक परिवर्तन आएको सुनाएका थिए।

उनले भने, ‘सुरुमा मैले मेरै भाउजूलाई सुनाएँ। भाउजुले डरलाग्दो अनुमान गर्दै नानीको स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्नुभयो।’ त्यसपछि छोरीसहित स्थानीय दिदी-बहिनीसँगै बाह्रदशी गाउँपालिका वडा नम्बर ५ को एक क्लिनिकमा जाँच गर्दा गर्भवती भएको देखिएको उनले बताए।

उनकी आमा दुई वर्षदेखि कुवेतमा छिन्। ११ वर्षको छोरालाई घरमा छोडेर उनका बुवा मजदुरी गर्न जान्थे।‘यस्तो कुकर्म होला भनेर कसरी कल्पना गर्नु,’ उनले भने। छोरीलाई कसले यस्तो कुकर्म गर्‍यो भन्नेबारे उनलाई थाहा छैन। उनले भने, ‘घरमा कोही नभएको मौका छोपेर बलात्कार भएको हुनुपर्छ।’

घटना बाहिर आएपछि स्थानीय प्रहरी र छिमेकीले अनुसन्धान गरिरहेका छन्। प्रहरी चौकी फुलबारीका प्रहरी साहायक निरीक्षक टंक खत्रीले भने, ‘हामीले पीडितका कुरा सुनेर अनुसन्धान अघि बढाएका छौं। केही दिनमा परिणाम आउँछ।’

प्रतिक्रिया