अपाङ्गता परिचयपत्र वितरण गर्दै मण्डनदेउपुर नगरपालिका

रिता घिसिंग

बनेपा, १६ जेठ : मण्डनदेउपुर नगरपालिकाले नगरभित्र रहेको अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राज्यबाट पाउने सेवासुविधा उपलब्ध गराउन परिचयपत्र वितरण गराउने काम शुरु गरेको छ ।

महिला तथा बालबालिका कार्यालय जिल्लाबाट स्थानीय तहमा गइसकेपछि पहिलोपटक नगरपालिकाबाटै त्यस्ता व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गर्ने काम शुरु गरिएको नगरपालिका उपप्रमुख निर्मला शाहीले बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिको परिचयपत्र पहिला जिल्लाले बनाउँथ्यो, अब सबै अधिकार स्थानीय तहमा आइसकेपछि उपप्रमुखको संयोजकत्वमा अपाङ्गता समिति गठन गरेर काम गर्ने भन्ने निर्देशिका आइसकेपछि उक्त कामलाई शुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “कामलाई थप प्रभावकारी बनाउन सबै वडामा सञ्जाल गठन गरेर वडा÷वडाबाट नै विवरण सङ्कलन गरी त्यसको आवश्यक छानबिन गरी कुन वर्गको अपाङ्गता हो, त्यहीअनुसार परिचयपत्र वितरण गर्ने काम शुरु गरेका छौँ ।”

अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकलाई सहजता प्रदान गर्न सबै वडामा प्रत्येक महीनाको १५ गते फारम वितरण तथा सङ्कलन गरी त्यसको आधारमा परिचयपत्र वितरण गर्दै आएको उहाँले बताउनुभयो । अहिले स्थानीय तहमा कर्मचारी अभाव भएका कारण सो कार्यक्रममा सहयोग गर्न नेपाल रेडक्रसलगायतका संस्थालाई सहयोग गर्न आग्रह गरिएअनुरुप उहाँहरुले सहयोग गरिरनुभएको शाहीले बताउनुभयो ।

मङ्सिरसम्म जिल्लाबाट बनाएर पठाएको परिचयपत्रले काम गर्ने र त्यसपछि स्थानीय तहले बनाएको परिचयपत्रले काम गर्ने भएकाले पुरानाको नवीकरण गर्ने कामसमेत सँगसँगै भइरहेको संयोजक शाहीले बताउनुभयो । अहिले नयाँ परिचयपत्र बनाएकाहरुले मङ्सिरबाट मात्रै सेवासुविधा पाउने उहाँको भनाइ छ ।

उहाँका अनुसार अघिल्लो महीनाको १५ गते सङ्कलन भएका फारममध्ये १० जनाले ‘क’ वर्गको रातो परिचयपत्र, २० जनाले ‘ख’ वर्गको निलो परिचयपत्र र २२ जनाले ‘ग’ वर्गको पहेलो परिचयपत्र प्राप्त गरेका छन् । यस्तै दोस्रोपटक हिजो बुधबार गरिएको फारम सङ्कलनको आवश्यक छानबिन गरी केही दिनमा परिचयपत्र वितरण गर्ने नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाभित्र ५७१ अपाङ्गता भएका व्यक्ति रहेको विवरण बुझाइसकेको छ । अवस्था अनुसार क र ख वर्गका परिचयपत्र पाउनेबाहेक ग र घ वर्गका परिचयपत्र पाउनेहरुका लागि नगरपालिकाले बजेटको व्यवस्था गरिसकेकाले छिट्टै सीपमूलक तालीमहरु सञ्चालन गर्ने तयारी भइरहेको संयोजक शाहीले बताउनुभयो ।रासस

प्रतिक्रिया