अफगानिस्तानमा तीन जना अमेरिकी सैनिक मारिए

शर्मिला गुरुङ

वासिङटन, संयुक्तराज्य अमेरिका, १२ मङ्सिर (रासस÷एएनआइ) : अफगानिस्तानको घाज्नी प्रान्तमा रहेको एक शहरमा विस्फोटक पदार्थ विस्फोटमा परी मङ्गलबार तीन अमेरिकी सैनिकको मृत्यु भएको छ ।

अफगानिस्तानमा नेटो सैन्य अन्तर्गत कार्यरत अमेरिकी सैनिकले दिएको जानकारीअनुसार यस विस्फोटमा परी अन्य तीन आफ्ना सदस्यहरु घाइते भएका छन् ।

यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको अमेरिकी टेलिभिजन सिएनएनद्धारा प्रशारित समाचारमा जनाइएको छ । यस विस्फोटमा परी ज्यान गुमाएका सैनिकहरुको परिचय भने खुलाइएको छैन ।

सन् २०१७ यता अफगानिस्तानमा अमेरिकी सैनिकमाथि गरिएको यो भीषण आक्रमण भएको बताइएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त घाज्नीमा हालैका साताहरुमा तालिबान आतङ्ककारी समूहले आफ्नो आतङ्ककारी क्रियाकिलापमा बृद्धि गरेका छन् ।

तालिबान आतङ्ककारीको बलियो प्रभाव रहेकोे यस प्रान्तमा अफगान सैनिकले आफ्नो नियन्त्रण कायम गर्न सहयोगको लागि अमेरिकाले थप अमेरिकी सैनिक पठाएको छ ।

अमेरिकी सरकारले हालै गरेको एक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै सिएनएनले दिएको जानकारीअनुसार हाल अफगानिस्तानको सरकारले देशका ५६ प्रतिशत जिल्लाहरुमा मात्र आफ्नो नियन्त्रण कायम गर्न सकेको अवस्था छ ।

बताइएअनुसार सन् २०१५ को नोभेम्बर महिनासम्म त्यहाँको सरकारले ७२ प्रतिशत नियन्त्रण कायम गरेको थियो । यसरी हेर्दा देशमा अफगानिस्तानको सरकारले तालिबानका विरुद्धमा नियन्त्रणको अवस्था गुमाउँदै गएको देखिएको छ ।

गत सोमबार अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा तालिबानको एम्बुस आक्रमणमा परी कम्तीमा पनि २० जना अफगान प्रहरी अधिकारी मारिएका छन् । अल जजिरा समाचार संस्थाले मारिने प्रहरीको संख्या २० पुगेको पुष्टि गरेको छ ।

यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको थियो । पछिल्ला केही महिना यता आएर तालिबानले अफगास्तिानको राजधानी काबुलमै पनि सशस्त्र हमलाहरु बढाएका छन् ।

प्रतिक्रिया