अफगानिस्तानमा राष्ट्रपति चयनका लागि मतदान जारी, कडा सुरक्षा व्यवस्था

राष्ट्रिय समाचार समिति

काबुल, ११ असोज (रासस÷सिन्ह्वा) : अफगानिस्तानमा शनिबार नयाँ राष्ट्रपतिचयनका लागि मतदान भइरहेको छ । तर यस मतदानलाई प्रभाावित पार्नेगरी तालिबानहले विस्फोट गर्ने क्रम पनि जारी रहेको बताइएको छ ।

यहाँका तालिबानहरुले मतदान केन्द्रलाई लक्षित गरेर आक्रमण गर्ने धम्की दिएका थिए । यसका कारण हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको अफगानिस्तानका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

अफगान तालिबानकै कारण दुई पटक सारिएको उक्त निर्वाचनका लागि कडा सुरक्षा व्यवस्थाबीच जारी रहेको छ ।केही समयअघिको अमेरिका र तालिबान विद्रोही समूहबीचको शान्तिवार्ता भङ्ग भएपछि यो निर्वाचन आयोजना गरिएको छ । 

हाल अफगानिस्तानको प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह र निवर्तमान राष्ट्रपति असरफ घानीबीच यस पदका लागि प्रतिश्पर्धा हुने भएको बताइएको छ । उहाँहरू सन् २०१४ देखि सत्तामा रहनु भएको छ ।
अफगानिस्तानको यस राष्ट्रपतीय निर्वाचनको प्रचार प्रसारका लागि आयोजना गरिएको ¥यालीमा भएको विस्फोटमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको बताइएको छ ।

बिहीबार र शुक्रबार पनि यहाँ विस्फोटहरु भएका छन् । त्यसमा परी केही मानिसको ज्यान गएको छ भने केही गम्भीर रुपमा घाइते भएका छन् ।
स्वतन्त्र निर्वाचन आयोगका प्रवक्ता जाबी सदातले समाचार संस्था एएफपीलाई बताए अनुसार मतदान गर्ने क्रम देशैभरि जारी छ । मतदान केन्द्रहरूमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ ।

अफगानिस्तानमा गएका करिब चार दशकदेखि द्धन्द्ध जारी छ । लामो समयदेखि युद्धको चपेटामा परेको यस मुलुकलाई निर्वाचित हुने राष्ट्रपतिले देशलाई कार्यकारी अधिकारसहितको नेतृत्व प्रदान गर्नेछन् । गएको करिब दुई दशकदेखि अमेरिकाले यहाँको सुरक्षाको व्यवस्थाको अगुवाई गरिरहेको छ । अफगान सरकारले पनि अमेरिकी नेतृत्वको सुरक्षा व्यवस्थामा तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ ।

अफगानिस्तानमा हालैका दिनमा मात्र करिब १४ हजार अमेरिकी सेना रहेका छन् । ब्रिटेन, जर्मनी र इटली जस्ता मुलुकबाट समेत त्यहाँ हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ ।
उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रहरूले अफगानिस्तानका सैन्य फौजलाई सल्लाह र सहायता दिँदै आएका छन् । पछिल्ला वर्षहरुमा सुरक्षाका गम्भीर घटनाहरुमा पनि नेटो सेनाले अफगान सुरक्षाकर्मीलाई नै अघि सार्दै आएको छ .

सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिबान सत्तालाई हटाइदिएको थियो । तालिबानले सत्ताच्युत गरेपछिको अवस्थामा आज मतदान जारी रहेको यो चौथो निर्वाचन हो । .
यो निर्वाचनबाट आएको नेतृत्वले पनि यसअघि जस्तै तालिबानहरुलाई शान्तिवार्तामा ल्याइ देशको हिंसाको अवस्थाको अन्त्य गर्ने एजेण्डा अघि सारेको छ ।

त्यसैले आजको निर्वाचनबाट निर्वाचित हुने उम्मेदवारले पनि देशको इतिहासमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ । तर तालिबानले हालसम्म सरकारलाई अवैधानिक भन्दै प्रत्यक्ष वार्ता गर्न मानेको छैन ।
यहाँको तालिबान विद्रोही समूहले शान्ति वार्ताको एजेण्डामा अमेरिकासँग सहमति भएपछि मात्रै अफगानिस्तानको सरकारसँग वार्ता गर्ने बताएको छ ।

प्रतिक्रिया