अबको एक हप्तामा मनसुन बाहिरिने, आज पनि दिउँसोभन्दा राति धेरै पानी पर्ने सम्भावना

admin

काठमाडौं, ७ असोज : मनसुन बाहिरिने सङ्केत देखिन थालेको मौसमविद्ले बताएका छन् । अबको एक हप्तामा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्वतिर हावा सर्न थालेकाले असोज १४ सम्ममा मनसुन बाहिरिने अनुमान छ । देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिने छ । लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ । यो वर्षको मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो ।

यसपालि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसपालिदेखि जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो । मौसमविद्का अनुसार हरेक १०/१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ ।

यसैबीच (आज) बिहीबार देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भइ सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । बिहीबार देशभर नै मौसम पूर्णरुपमा खुल्ने सम्भावना छैन । एकछिन खुले पनि फेरि बादल लाग्ने सम्भावना छ ।

बेलुका ४ बजे पछाडि भने काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । बिहीबार पनि बुधबार र मंगलबारकै जस्तो दिउँसोभन्दा राति धेरै पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया