तालिबानले अपहरण आरोपमा चार जनालाई मारेर सार्वजनिक स्थानमा झुण्ड्याए

admin

एजेन्सी, १० असोज : अफगानिस्तानको सत्तामा फर्किएका तालिबानहरूले सजायको तरिका बीस वर्षअघि कै अवस्थामा फर्काएका छन् । बीबीसीका अनुसार हेरात सहरमा उनीहरूले चार जनालाई अपहरणको आरोपमा मारेर शव चोकमा झुण्ड्याएर राखेका छन् ।

एक जना तालिबान नेताले पहिलाको जस्तै सजाय दिने व्यवस्था फेरि आउन सक्ने बताएको अर्को दिन पश्चिम सहर हेरातको मुख्य चोकमा क्रेनमा झुण्ड्याएको शव राखिएको हो । तालिबान अधिकारीहरूले एक जना व्यापारी र उनका छोरालाई अपहरण गरेका ती चार जना गोली हानाहानमा मारिएको बताएका थिए ।

अपहरणमा परेका व्यापारी र उनका छोरा मुक्त भइसकेका छन् । हेरातका एक व्यापारी वजिर अहमद सिद्धिकीले समाचार संस्था एसोसिएट प्रेसलाई बताएअनुसार शनिबार तालिबानहरूले चार वटा शव सहरमा ल्याएर आएका थिए । एउटा मुख्य चोकमा झुन्ड्याए र तीन वटा बाँकी चोकमा झुण्ड्याउन लगेर गए ।

हेरातका उपगभर्नर मौलावी शइरले अब कसैले अपहरण नगरोस् भनेर शव चोकमा राखिएको बताए । गत अगस्ट १५ मा अफगानिस्तानको सत्ता कब्जा गरेका तालिबानहरूले यसपालि आफूहरूले नरम तरिकाले शासन गर्ने बताएका थिए ।

सन् १९९६ देखि २००१ सम्म शासन गर्दा उनीहरूले अपराध गर्ने मानिसलाई सार्वजनिक रूपमा ढुंगाले हानेर मार्ने र हात-खुट्टा काटिदिने जस्ता दण्ड दिने गर्थे । अहिले पनि उनीहरूले त्यही शैली अपनाउने देखिएको छ ।

तालिबानले अफगानिस्तानमा इस्लामिक नियमभित्र रहेर महिला अधिकारको पनि रक्षा गरिने बताउँदै आएको छ । तर, विश्वविद्यालयहरुमा महिलालाई छुट्टै राखेर पढाउनुपर्ने नियम लागू गरिएको छ भने सौन्दर्य व्यवसाय पूर्णरुपमा बन्द छन् । तालिबानले अझै समग्र व्यवस्थाबारे निर्णय भइनसकेको बताउँदै आएको छ ।

प्रतिक्रिया