अब काठमाडौंमा सभा, जुलुस र प्रदर्शन गरे कारबाही हुने

admin

काठमाडौं, १६ मंसिर : जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार विज्ञप्ति निकालेर भिडभाडजन्य गतिविधि सञ्चालन गर्नेलाई कानुनअनुसार कारबाही गर्ने जनाएको छ ।

काठमाडौंका विभिन्न ठाउँमा सभा, जुलुस, प्रदर्शनजस्ता क्रियाकलाप भइरहेकोले तत्काल यस्ता गतिविधि बन्द गरेर कोरोना संक्रमणको रोकथाममा सहयोग गर्न जिल्ला प्रशासनले आग्रह गरेको हो ।

आउँदा दिनमा भिडभाडजन्य गतिविधि सञ्चालन गरेको पाइए संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने कार्यलयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्व सामु नै चुनौतीको रूपमा रहेको कोरोना संक्रमण काठमाडौंमा तत्काल नियन्त्रण हुने अवस्था नरहेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सरकारले तोकेको मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै प्रदर्शनकारीहरूले आन्दोलन गरिरहेका छन् । यस्तै विभिन्न मागसहित अरु सङ्गठन र अभियन्ताहरूले पनि काठमाडौंको माइतीघरलगायत ठाउँमा विरोध प्रदर्शनलगायतका विरोध कार्यक्रम गर्न सुरु गरेका छन् ।

प्रतिक्रिया