अब कोरोनासँगै बाँच्न सिक्नुपर्छ : डब्ल्यूएचओ

अस्मिता बेल्बासे

एजेन्सी, १६ साउन : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानम गेब्रेयेससले अब विश्वभरका मानिसले कोरोना भाइरस (कोभिड-१९) सँगै बाँच्न सिक्नुपर्ने बताएका छन् ।

डब्ल्यूएचओको दैनिक प्रेस ब्रिफिङको क्रममा उनले भने, ‘हामी सबैले कोरोना भाइरससँग जीवनयापन गर्न सिक्नुपर्छ र हामीले आफ्नो र अन्य मानिसको पनि जीवनको सुरक्षा गर्दै आवश्यक सावधानी पनि अपनाउनु जरुरी छ ।’

गेब्रेयेससले युवाहरु पनि कोरोना भाइरसबाट संक्रमित हुन सक्ने, अरुलाई संक्रमण पनि सार्न र यसको कारण उनीहरुको पनि मृत्यु हुन सक्ने भन्दै युवाहरुले आफ्ना साथै अन्य मानिसको पनि सुरक्षाको उपाय पालना गर्नुपर्ने बताए ।

गेब्रेयेससले कोरोना भाइरसको कारण युवाहरुमा जोखिम हुन सक्ने बताएका छन् । उनले भने, ‘हामीले यसअघि नै चेतावनी दिइसकेका छौँ र फेरि पनि भनिरहेका छौँ कि युवाहरु पनि कोरोनाको संक्रमणबाट अछुत छैनन्, उनीहरु पनि जोखिममा छन् ।’

गेब्रेयेससले साउदी अरेबियाले हजयात्रामा लगाएको कडा नियमको प्रशंसा गरेका छन् । उनले साउदी अरेबियाले हजयात्राको लागि ल्याएको कडा किसिमको नियमले अहिले फेरिएको विश्वको वास्तविकतासँगै अघि बढ्न कस्ता योजना ल्याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताए ।

प्रतिक्रिया