अब घरायसी ग्राहकको घरमा सिङ्गल फेज मिटर हटाएर स्मार्ट मिटर जोडिँदै

admin

काठमाडौं, २५ साउन : नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिङ्गल फेज मिटरलाई हटाएर स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिङ्गल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका हुन् ।

देशभर अहिले झण्डै ५० लाख सिङ्गल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका ग्राहकको सिङ्गल फेज र थ्री फेज गरी झण्डै एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने छ ।

स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ । स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने छैन ।

विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबाट मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने छ । मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुने छ ।

कसैले मिटर बाइपास गरी विद्युत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने छ । स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमाण्ड चुहावट नियन्त्रण हुन्छ ।

कार्यक्रममा मन्त्री पुनले सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकीकरण र चुस्तता कायम गरेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको सुरुवात एउटा कोशेढुङ्गा भएको बताए ।

‘स्मार्ट मिटरको जडान मात्रै हैन, सङ्घीय राजधानीलगायत देशका मुख्य-मुख्य सहरमा विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सहरी सौन्दर्यता बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम गरिरहेका छौँ’, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले भने ।

‘प्राधिकरणको प्रस्तावमा विद्युत् नियमन आयोगमार्फत इतिहासमै पहिलो पटक उपभोक्ता महसुल घटाएका छौँ भने प्राधिकरणलाई दुई वर्षदेखि सबैभन्दा बढी नाफा कमाउने देशकै एक नम्बरको संस्था बनाउन सफल भएका छौँ, इमान्दार प्रयास गरिएमा गर्न सकिन्छ भन्ने पुष्टि भएको छ’, उनले देश छिट्टै ऊर्जामा आत्मनिर्भर हुने पनि बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले दुई वर्षअघि स्वेतपत्रमार्फत घोषणा गरिएको पाँच वर्षभित्र स्मार्ट ग्रिड र मिटर लागू गर्ने भनिएको कार्यक्रम कार्यान्वयनको उत्साहजनक प्रगति रहेको बताए ।  उनले वितरण प्रणालीलाई भूमिगत बनाउने र स्मार्ट मिटरको प्रयोगलाई समानान्तर रुपमा अगाडि बढाइने जानकारी दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आउँदो दिनमा दुई हजार पाँच सयदेखि तीन हजारसम्म कर्मचारीको खर्च कम हुने बताए ।

‘स्मार्ट मिटरमा हरेक घण्टाको महसुल फरक-फरक कायम गर्न सकिने हुँदा पिक, अफ पिक र नर्मल समयमा ग्राहकको फरक-फरक महसुल तोक्न सकिने छ । साथै अब चाँडै वर्षायाममा बढी विद्युत् उत्पादन हुँदैछ, त्यसको खपत बढाउन सस्तो महसुल कायम गर्न सकिन्छ भने हिउँदयामको महसुल पनि फरक तोक्न सकिने छ’, उनले भने ।

प्राधिकरणले पहिलो चरणमा देशभरका आठ हजार दुई सय २२ टाइम अफ डे (टीओडी) मिटरहरुलाई स्मार्ट बनाइसकेको छ । दोस्रो चरणमा देशभरका झण्डै एक लाख २५ हजार थ्री फेज होल करेन्ट मिटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ ।

यस्ता झण्डै १८ हजार मिटर जडान भइसकेका छन् । ६० हजार मिटर जडान भइरहेको छ । नयाँ थ्री फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ । स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक ‘कम्युनिकेसन ब्याकबोन’ काठमाडौं उपत्यकाभरिलाई हुने गरी जडान गरिने छ । यसको र सिङ्गल फेज स्मार्ट मिटर जडानको लागत झण्डै एक अर्ब रुपैयाँ रहेको छ ।

यसमा एसियाली विकास बैंकले सहुलितपूर्ण ऋण दिएको छ । काठमाडौं उपत्यकामा अहिले रहेका झण्डै चार लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ । प्राधिकरणले देशभरका सबै ग्राहकको मिटरलाई स्मार्ट बनाउने गरी कार्यक्रम अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

प्रतिक्रिया