ट्राफिक प्रहरी : मास्क खै ?

admin

भीमदत्तनगर, २६ असार : जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा शुक्रबारदेखि सर्वसाधारणलाई अनिवार्यरुपमा मास्क लगाएर मात्रै बाहिर हिँडडुल गर्न आग्रह गरेको छ ।

यसका लागि कार्यालयले निगरानी समेत बढाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा ट्राफिक प्रहरी प्लेकार्डसहित बजार क्षेत्रमा सचेतना फैलाउँदै हिँडेको छन् ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारको निर्देशनअनुसार आफूहरु सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै हिँडेको उनको भनाइ छ ।

पाँच दिनअघि गृह मन्त्रालयले विनामास्क घर बाहिर निस्कनेलाई पक्राउ गर्नसमेत प्रहरीलाई निर्देशन दिइसकेको छ । “पहिलो चरणमा हामीले मास्क लगाउन आग्रह गर्दै सम्झाइरहेका छौँ”, उनले भने, “विस्तारै निगरानी र कारवाही अघि बढ्छ ।”

विनामास्क घर बाहिर हिँडे संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ । प्रहरीले विनामास्क बजार क्षेत्रमा हिँडडुल गरेको पाइए कारवाही गर्ने तयारी गरिरहेको छ ।

“सवारीसाधन रोकेर मास्क लगाउनभन्दा धेरैले गोजीमा झोलामा राखेको भेटियो”, उनले भने, “मास्क आफैं स्वास्थ्य सुरक्षाका लागि हो भन्ने सोच्न सबैले आवश्यक छ ।” जिल्लामा पछिल्लो समय लकडाउन खुकुलो भएसँगै बजार क्षेत्रमा भीडभाड बढ्दै गइरहेको छ ।

प्रतिक्रिया