अब सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुन्छ : अर्थमन्त्री शर्मा

admin

काठमाडौं, १९ साउन : अर्थ मन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा आज मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन-२०७८ लाई सम्बोधन गर्दै उनले यो समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चेक नचल्ने नियम खारेज गर्छु । सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बैंक तथा गाउँ-गाउँमा रहेका लघुवित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको छु, उनले भने, बरु सहकारी बैंकहरूले नाफाका लागि प्रतिस्पर्धा नगर्नुस् । उत्पादन र रोजगारी सिर्जनामा प्रतिस्पर्धा गर्नुस् । अर्थमन्त्री शर्माले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकका साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने बताए ।

उत्पादनमुखी अर्थतन्त्रमा टेवा पुर्‍याउन लघुवित्तले उत्पादन क्षेत्रलाई जोड दिनुपर्छ, उनले भने, त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्छ । उत्पादनमा जोड दिँदा त्यसले रोजगारी सिर्जना गर्ने भन्दै उहाँले सहकारी संस्थाहरूले नाफाको प्रतिस्पर्धा नगरि रोजगारी सिर्जना, गरिबी अन्त्य तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

यसैगरी मन्त्री शर्माले ऋण प्रवाहमा रहेको असमानता समेत हटाउन पहल गरिने बताए । गाडी किन्ने कर्जा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ, उनले भने । उनले कर्जा प्रवाहमा ब्याज दर घटाएर सहज बनाउन सहकारी बैंक, सहकारी संस्था तथा लघुवित्त संस्थाहरूलाई आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष केशव बडाल, पत्रकार शर्मिला ठकुरी, राष्ट्रिय सहकारी बैंकका उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिएको छ । मंगलबारदेखि सुरु भएको ‘सहकारीमा लघुवित्त सम्मेलन-२०७८’ (भोलि) बुधबारसम्म चल्नेछ । कोरोनाका कारण सम्मेलनमा भौतिक उपस्थिति कम गराइएको छ भने भर्चुअल माध्यमबाट ६ सयभन्दा बढीको सहभागिता रहेको आयोजक राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया