अब सामाजिक सञ्जालबाट कमाएको पैसा बैंकमार्फत नेपाल ल्याउन पाइने

admin

काठमाडौं, २ असोज : युट्युबजस्ता सामाजिक सञ्जालमार्फत विदेशबाट नेपाल आउने रकम बैंक तथा वित्तीय संस्थाबाटै ल्याउन सकिने भएको छ । सामाजिक सञ्जालमार्फत विदेशी रकम आर्जन गर्नेहरुले बैंक तथा वित्तीय संस्थाको बाटो नभइ अन्य तरिकाले पनि रकम नेपाल भित्र्याइरहेका थिए ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचनामार्फत सूचना प्रविधि सम्बद्ध दक्षता/विज्ञताको निकासी, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएबापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबारबापत प्राप्त हुने रकम बैंक तथा वित्तीय संस्थामार्फत प्राप्त गर्न सकिने जनाएको छ ।

यसको लागि स्वदेशी बैंकको खातामा विदेशी मुद्रा आएपछि बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिनेछ ।

विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टीलगायत आवश्यक पर्ने भएमा र भुक्तानी विदेशमा पठाउनुपर्ने भएमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको निर्देशनको पालना गर्नुपर्नेछ ।

प्रतिक्रिया