अभिनेत्री आँचल शर्माद्वारा उपचाररत निशा घिमिरेलाई एक लाख सहयोग

admin

काठमाडौं, ३१ जेठ : अभिनेत्री आँचल शर्माले नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री निशा घिमिरेलाई एक लाख सहयोग गर्ने भएकी छिन् । आइतबार अभिनेत्री निशालाई भेट्न अस्पताल पुगेकी अभिनेत्री आँचलले एक लाख सहयोग गर्ने बताएकी हुन् । आँचलले आगामी शनिबार उनका पितालाई भेटेर सहयोग रकम हस्तान्तरण गर्न लागेकी हुन् ।

स्वास्थ्यमा सुधार हुँदै गएका कारण निशा चाँडै निको हुनेमा आफू विश्वस्त रहेको अभिनेत्री आँचलको भनाइ छ । तीन वर्ष अगाडि अभिनयमा डिप्लोमा गर्न भारत जाने क्रममा सवारी दुर्घटनामा परी ब्रेन इञ्जुरी भएकी अभिनेत्री निशाको गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्दार गरेर निःशुल्क उपचार सुरु गरेकी हुन् । निशा अस्पताल भर्ना भएपछि अभिनेत्री करिश्मा मानन्धर, रेजिना उप्रेती, उषा पौडेललगायतले पनि आर्थिक सहयोग गरिसकेका छन् । त्यस्तै, चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले पनि निशालाई ५१ हजार प्रदान गरेको छ ।

सहयोगी मनहरुले सनराइज बैंकमा निशाका बुवा प्रेम प्रसाद घिमिरेको नाममा रहेको खाता नम्बर 0840613613205001 मा सहयोग गर्न सक्नुहुनेछ । सहयोगका लागि निशा घिमिरेका बुवा प्रेम प्रसाद घिमिरेलाई 9851238952 मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया