अभिलेखमा चार सय, कक्षामा चार

admin

सिरहा, २१ मंसिर: भगवानपुर गाउँपालिका–४ विश्वासपट्टीस्थित अधारभूत विद्यालयको अभिलेखअनुसार कक्षा १ देखि ८ सम्म तीन सय ८० विद्यार्थी छन्। तर अभिलेखअनुसार विद्यार्थी कक्षामा देखिएनन्। नागरिककर्मी विद्यालय पुग्दा रोशनकुमार कामैत, मुक्तिकुमारी पासवान, रोहितकुमार कामैत र आरतीकुमारी कामैत मात्र थिए।

बाँकी कक्षाकोठा बन्द थिए। उनीहरू कक्षा १ का थिए। अभिलेखमा भएका अरू विद्यार्थी विद्यालयमा देखिएनन्। भेटियो त केवल विद्यार्थीको अभिलेख भरिएको रजिस्टर र विद्यालयको चौरमा गफ हाँकिरहेका शिक्षक। रजिस्टरमा नाम भएका विद्यार्थी पढ्न आउँदैनन्। पढ्न नआए पनि उनीहरुको नाम रजिस्टरमा कायमै छ। परीक्षा हुँदा र माथिबाट कोही अनुगमनका लागि आउने जानकारी पाउँदा मात्र विद्यार्थीलाई उपस्थित गराउने गरिएको एक शिक्षकले बताए।

विद्यालयमा पढाइ नियमित नहुँदा यस्तो अवस्था आएको हो। गाउँकै विद्यालयमा पढाइ नहुँदा सीमावर्ती विश्वासपट्टीका बालबालिकालाई सीमावर्ती भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ। बिहार मधुवनीको लौकाहा बजारस्थित राजकीय कन्या माध्यमिक विद्यालयमा पढ्ने विश्वासपट्टीकी छात्रा कविताकुमारी पण्डित भन्छिन्, ‘गाउँको विद्यालयमा कहिल्यै पढाइ हुन्न। नजिक छाडेर टाढाको विद्यालय जानु रहर होइन, बाध्यता हो।’

कवितासँगै सीमावर्ती भारतीय बजार लौकाहाको कन्याम माविमा पढ्न गएका उनका साथी पनि यस्तै दुखेसो पोख्छन्। विश्वासपट्टीस्थित आधारभूत विद्यालय अगाडि घर भएका राजलाल मण्डलका अनुसार यहाँ शिक्षकहरुको मनपरी छ। ‘शिक्षकलाई गफ गर्न मन लागेको बेला विद्यालय खुल्छ, नलागेका बेला बन्द रहन्छ।

यो विद्यालय पढाइका लागि नभई शिक्षकहरूको मनोरञ्जनका लागि हो,’ उनले भने। विद्यालयछेउमै घर भएका अर्का रामदेव मण्डल भन्छन्, ‘आँगनमै विद्यालय छ। नेपाल सरकारले शिक्षा क्षेत्रमा ठूलो धनराशि खन्याइरहेको पनि छ तर के गर्नु ? विद्यालयमा कहिल्यै पढाइ हुँदैन।’ नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया