अमेरिकाको बजेट स्वीकृत, तर मेक्सिको पर्खालको बजेट पारित भएन

मनिषा थापा

वासिङटन, ५ पुस (रासस/एएफपी) : संयुक्तराज्य अमेरिकाको माथिल्लो सदन सिनेटले बुधबार राति अल्पकालीन खर्च विधेयकलाई स्वीकृत गरेको छ । उक्त विधेयकमा अमेरिका–मेक्सिको सीमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुरोध गर्नुभएको बजेटलाई भने समेटिएको छैन ।

सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले सरकारको दैनिक कार्यसञ्चालनका लागि बजेट स्वीकृत भएको जानकारी दिनुभयो । बजेट स्वीकृत भएसँगै सङ्घीय सरकारी कार्यालयहरु बन्द हुने परिस्थितिबाट जोगिएका छन् ।

यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पारित हुन आवश्यक छ, र यसमा दुबै पार्टी रिपब्लीकन र डेमोक्रेटबीच सहमति भएको छ । दुबै सदनबाट पारित हुने उक्त बजेटमा शुक्रबार मध्यराति राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नुहुनेछ ।

रिपब्लीकन र डेमोक्राटिक पार्टीका नेताहरुले बुधबार राष्ट्रपति ट्रम्पको विवादास्पद अमेरिका–मेक्सिको पर्खाल निर्माणका बारेमा अहिल्यै निर्णय नगर्ने सहमति भएसँगै बजेट अनुमोदन भएको थियो ।

“सिनेटमा हाम्रा रिपब्लीकन साथीहरुले बेलैमा सही निर्णय गर्नु भएको छ, र सङ्घीय सरकारी सेवा ठप्प हुनबाट जोगिएको छ । संसदका दुबै सदनबाट यो बिधेयक पारित हुने कुनै सम्भावना नै थिएन, र आमजनता पनि यसको विपक्षमा छन्,” सिनेटमा डेमाक्राटिक पार्टीका नेता चक सुमरले बताउनुभयो ।

ह्वाइट हाउसका सहयोगीहरुले राष्ट्रपति ट्रम्पले संशोधित विधेयकलाई नै स्वीकृत गर्ने जानकारी दिएका छन् ।

तर राष्ट्रपति ट्रम्पका निम्ति यसलाई पराजयको रुपमा लिइएको छ, किनभने उहाँले पर्खाल निर्माणका लागि पाँच अर्ब डलर तत्काल जरुरी भएको बताउँदै आउनुभएको थियो । राष्ट्रपति ट्रम्पको विचारमा पर्खाल निर्माणले अवैध आप्रवासनलाई रोक्न ठूलो मद्दत गर्नेछ ।

प्रतिक्रिया