अमेरिका–चीन वार्तामा अझै अन्यौल, प्रगति नभए सम्झौतामा हस्ताक्षर हुँदैन : राष्ट्रपति ट्रम्प

मनिषा थापा

वासिङ्टन, २५ फागुन (रासस/एएफपी) : संयुक्तराज्य अमेरिका र चीनबीच तीन महिनादेखि जारी व्यापार वार्ताका विषयमा वासिङ्टन र बेइजिङबाट आइरहेका विवादास्पद टिप्पणीले समस्या समाधानमा अन्यौल बढेको विज्ञहरुले औंल्याएका छन् । दुबै देशका उच्च व्यक्तित्वबाट आएका टिप्पणीले विश्व शेयर बजारमा समेत असर परेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू व्यापार वार्ताप्रति आशावादी रहेको तर अमेरिकाका जायज सरोकारहरु सम्बोधन नहुँदासम्म चीनसँग कुनै सम्झौता नहुने स्पष्ट गर्नुभएको छ । राष्ट्रपतिका एक जना आर्थिक सल्लाहकारले पनि राष्ट्रपति ट्रम्प वार्ताबाट कुनै पनि समय बाहिरिन सक्ने चेतावनी दिनुभयो ।

गत वर्षदेखि नै दुई आर्थिक महाशक्ति राष्ट्रहरु चीन र अमेरिकाबीच व्यापारका विषयमा विवाद चुलिएको थियो । दुबै देशबाट एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानको आयात निर्यात गर्दा करवृद्धि गर्ने घोषणा गरिएको छ । यी कदमले विश्वको आर्थिक वृद्धि र व्यावसायिक आत्मविश्वासमा जोखिम सिर्जना गरेको छ ।

“मलाई सम्झौता हुनेमा पूर्ण विश्वास छ, तर यसमा अमेरिकी हित नसमेटिए म हस्ताक्षर गर्दिनँ,” आँधीले तहसनहस भएको अलाबा राज्यको भ्रमणमा निस्कनुअघि ह्वाइट हाउसमा संवाददाताहरुलाई राष्ट्रपति ट्रम्पले बताउनुभयो ।

अमेरिकी र चिनीया अधिकारीहरुले विवाद समाधानतर्फ सकारात्मक प्रगति भइरहेको बताएका छन् तर बेइजिङस्थित अमेरिकी कुटनीतिज्ञले शुक्रबार तत्कालै दुबै मुलुकबीच सम्झौता भइहाल्ने स्थिति नरहेको बताउनुभएको छ ।

अमेरिकाले चीनमा गहिरो संरचनात्मक परिवर्तन हुनुपर्ने माग गरिआएको छ । विदेशी लगानीकर्ताहरु र आफ्नो स्वामित्वका उद्यमहरुमाथि चीनले गरिरहेको फरक व्यवहारमा परिवर्तन गर्नुपर्ने अमेरिकी माग छ । साथै, अमेरिकाले चिनीया मुद्रा र अमेरिकी प्रविधिको संरक्षणलाई प्रमुख विषयका रुपमा उठाएको छ ।

ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले चिनीया राष्ट्रपति सी चिनफिङसँग हुने भनिएको शिखर वार्ता आगामी अप्रिलमा मात्र हुन सक्ने बताउनुभयो । दुबै देशका अधिकारीहरुले यसअघि शिखर वार्ता यसै महिना अर्थात मार्चको अन्त्यतिर हुन सक्ने बताएका थिए ।

कुड्लोले अमेरिकी टेलिभिजन च्यानल सीएनबीसीसँग कुरा गर्दै शिखर वार्तामा सहमति हुने सम्भावना नभए राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँगको हनोई शिखर बैठकमा झैं वार्ताबाट बाहिरिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति सीसँगको बैठकको समयसीमा अहिल्यै भन्न सकिन्न ।”

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले पनि दुई देशबीच व्यापार सम्झौता गराउन निरन्तर कार्य गरिरहनुभएको छ । व्यापार वार्ता सकारात्मक दिशातर्फ नै अग्रसर रहेको जनाउँदै भन्नुभयो, “फ्लोरिडामा बैठक हुन सक्छ । यो बैठक यसै महिना वा अर्को महिनाको शुरुमा हुन सक्दछ ।”

प्रतिक्रिया