अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीक : मुद्राकोष प्रमुख

मनिषा थापा

नुसा डुआ, इन्डोनेसिया, २६ असोज (रासस/एएफपी)  :  अन्तर्राष्ट्रिय मुद्राकोषका प्रमुख क्रिस्टिन लागार्डले अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीक रहेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर वित्तीय बजारमा समस्या सिर्जना गरेको आरोप लगाउनुभएको थियो ।

मुद्राकोष र विश्व बैंकको इन्डोनेसियामा शुरु भएको वार्षिक बैठकमा सम्बोधन गर्दै प्रमुख लागार्डले बढ्दो वित्तीय अस्थिरताले विश्वभर समस्या ल्याउने खतरा रहेको चेतावनी दिनुभयो ।

इन्डोनेसियाको बालीमा आयोजित पत्रकार भेटघाटमा लागार्डले वित्तीय बजारमा देखिएका समस्या सुल्झाउन केन्द्रीय बैंकहरुले स्वतन्त्र किसिमबाट निर्णय गर्न पाउनुपर्छ भन्नुभयो ।

बुधबार अमेरिकी वाल स्ट्रिटमा समस्या आएसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भ (केन्द्रीय बैंक) ले ब्याजदर बढाएर गल्ती गरेको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “मेरो विचारमा फेडको निर्णय मूर्खतापूर्ण हो ।”

ट्रम्पले वाल स्ट्रिटमा भएको बढोत्तरीलाई आफ्ना नीतिहरुको सफलताका रुपमा प्रचार गर्नुका साथै ब्याजदरमा निरन्तर भइरहेको वृद्धिका सम्बन्धमा केन्द्रीय बैंकको आलोचना गर्नुहुन्छ ।

आर्थिक परिदृश्यमा कालो बादल लागिरहेको परिस्थितिमा छलफल गर्न इन्डोनेसियाको बालीमा विश्वका वित्तीय प्रमुखहरु छलफलमा जुटेका छन् । बुधबार मात्र मुद्राकोषले सार्वजनिक गरेको विश्वको आर्थिक परिदृश्य प्रतिवेदनमा व्यापार तनाव अझ बढेमा वा उदीयमान अर्थतन्त्रमा गिरावट आएमा जोखिमहरु देखिने बताएको थियो ।

विश्वमा अहिले खासगरी अमेरिकी राष्ट्रपति ट्रम्पको चीनसँगको करवृद्धि युद्ध तथा विश्वभर स्थापित व्यापारिक व्यवस्थालाई ट्रम्पको अस्वीकृतिले समस्या निम्त्याएको छ ।

मुद्राकोष प्रमुख लागार्डले विश्वको व्यापार प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले वर्षौंको प्रयत्नबाट निर्माण भएको यो प्रणालीलाई भत्काउन नहुने चर्चा गर्नुभयो । हाल विश्वभर राष्ट्रवादी र संरक्षणवादी धारणा प्रखर रुपमा उठ्न थालेको अवस्थामा लागार्डको यो भनाइ सार्वजनिक भएको हो ।

प्रतिक्रिया