अमेरिकी विदेशमन्त्री उत्तर कोरिया जाने

सन्दीप खत्री

संयुक्त राष्ट्रसङ्घ, ११ असोज : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अर्को महिना उत्तर कोरियाको भ्रमण गर्ने निश्चय भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

उत्तर कोरियाका विदेशमन्त्री री योङ होसँग राष्ट्रसङ्घमा भएको भेट पश्चात् अमेरिकी विदेश मन्त्रालयले यस्तो जानकारी दिएको हो । विदेशमन्त्री पोम्पोओले ट्वीट गर्दै उत्तर कोरियाली समकक्षीसँगको भेट अत्यन्त सकारात्मक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “धेरै काम भएका छन्, तर त्योभन्दा पनि अझ अगाडि बढ्ने दुवै देशको चाहना छ ।”

विदेशमन्त्री पोम्पेओ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–अनबीच दोस्रो शिखर बैठकको तयारीका लागि उत्तर कोरिया भ्रमणमा जान लाग्नुभएको हो । उत्तर कोरियाले यसअघि सिंगापुरमा भएको दुबै नेताको पहिलो शिखर बैठकमा व्यक्त प्रतिबद्धता बमोजिम आणविक कार्यक्रम बन्द गर्नुपर्ने माग अमेरिकाले राख्दै आएको छ ।

गत साता दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरिया भ्रमणका क्रममा आणविक कार्यक्रम बन्द गर्ने बारेमा भएका सहमतिले अमेरिका–उत्तर कोरियाबीच शिखर बैठकका लागि वातावरण बनेको बताइन्छ । रासस

प्रतिक्रिया